देवघाट, असार २१
देवघाट गाउँपालिकाका जनप्रनितिधि र राजनीतिकदलका नेताहरुले दासढुङ्गा देखी मुग्लिनसम्म त्रिशुली नदीको किनारमा तनहुँ तर्फ राष्ट्रिय राजमार्ग निर्माण गर्न माग गरेका छन् । देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरको नेतृत्वमा नेकपा एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, स्थानीय समाजसेवी कुलचन्द्र न्यौपाने लगायतले मंगलबार सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखलाई भेटगरी नारयणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँ तर्फ अर्काे राजमार्ग निर्माण गर्न माग गरेका हुन् ।




सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखसँगको भेटमा देवघाटका जनप्रतिधि र राजनीतिक दलका नेताहरुले अहिले मुग्लिन–नारयणगढ सडकमा वर्षाको समयमा दिन दिनै पहिरो गएर ठुलो समस्या भोग्नु परेको हुँदा बैकल्पिक सडक निर्माणको लागि तत्काल पहल थाल्न अनुरोध गरेका थिए ।
तनहुँ तर्फ अर्काे राष्ट्रिय सडक निर्माण गर्न सकेमा हाल विकासमा निकै पछाडी परेको तनहुँको देवघाट तथा आवुँखैरेनी गाउँपालिकाका धेरै बस्तीहरुलाई विकासको मुलधारमा ल्याउन सकिने वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले बताउनु भयो ।

उक्त बैकल्पिक राजमार्गको बारेमा तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले सर्भे र डिपिआरको लागि बजेट बिनियोजन गरि सर्भे र डिपिआर समेत भईसकेको तथा आर्थिक वर्ष २०७३÷०७४ को बजेट तथा सरकारको नीति तथा कार्यक्रममा उक्त सडक निर्माण गर्न २३० करोड रुपैयाँ बिनियोजन समेत भईसकेको नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले बताउनु भयो । तर अहिले उक्त डिपिआर मन्त्रालय र सडक विभागमा नभेटिएको हुँदा नयाँ सर्वे र डिपिआर गर्नु पर्ने बाध्यता भएको बताईएको छ ।
यसै सन्दर्भमा हाल देवघाटका समाजसेवी कुलचन्द्र न्यौपानेले गैंडाकोट देखि दासढुङ्गा पुलसम्म बैकल्पिक बाईपास मार्ग निर्माणको लागी सर्भे तथा डिपिआर गर्न प्रेस विज्ञप्ति मार्फत सरकार र सम्बन्धित निकायलाई अनुरोध समेत गर्नु भएको छ । उहाँले सार्वजानिक विज्ञप्ति निकाल्दै गैडाकोट र देवघाट जोड्ने हर्दीको पुल निजकैबाट दासढुङ्गा जोड्न बाइपास सडक निर्माण गरि दासढुङ्गा हुँदै त्रिशुलीको किनारै किनार मुग्लिनसम्म सडक निर्माणको लागि सर्वे र डिजाईनको काम गर्न अनुरोध गर्नु भएको छ ।

सरकारी तहबाट पनि विकल्पको खोजी
नारयणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिरोले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । उक्त सडकको पहिलो विकल्पमा पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारै किनारको नयाँ सडक निर्माण गर्ने रहेको छ ।
सडक विभागले डिभिजन सडक कार्यालय भरतपुरलाई अहिलेको सडकपारि त्रिशूली किनारै किनार तनहुँतर्फ नयाँ सडक बनाउन सकिने गरी गृहकार्य सुरु गर्न निर्देशन दिएको डिभिजन सडक कार्यालय भरतपुरका डिभिजन प्रमुख (डिई) रमेशप्रसाद पौडेलले जानकारी दिनु भयो । देवघाटका प्रतिनिधिसँगको भेटमा डिभिजन सडक कार्यालयका भरतपुरका प्रमुख पौडेलले उक्त सडकको सर्भे र डिपिआरको लागि २० लाख रुपैयाँ विनियोजन भएको जानकारी दिनु भयो ।

पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी गृहकार्य सुरु भएको पौडेलले बताउनु भयो । सुरुमा नयाँ सडक बनाउनु पर्ने ठाउँलाई राष्ट्रिय सडक कायम गरिनुपर्ने भएकाले अहिले त्यो निर्णयका प्रस्ताव मन्त्रीपरिषदमा लैजान टिप्पणी तयारीको काम भइरहेको पौडेलले बताउनु भयो । उक्त टिप्पणी सडक विभाग, भौतिक योजना मन्त्रालय हुँदै मन्त्रीपरिषद्को बैठकमा प्रस्तुत गरिने छ ।

वैकल्पिक सडक बनाउन प्रस्ताव गरिएको गैँडाकोटदेखि मुग्लिनसम्म करिब ३८ किलोमिटरको दूरी पर्छ । त्यसमा पनि गैँडाकोटदेखि दासढुङ्गासम्मको १६ किलोमिटर अहिले पनि कालोपत्रे सडक नै छ । अब दासढुङ्गादेखि मुग्लिनसम्मको २० किलोमिटर सडक बनाउने हो भने नारायणगढ–मुग्लिन सडककै कारण यात्रुले भोग्नुपरेको समस्या समाधान हुने विश्वास गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका विभागीय प्रमुख प्रा.डा खुमनारायण पौडेलले त्रिशूलीपारि नयाँ सडक राम्रो विकल्प रहेको र भौगोलिक अवस्था अनि एउटै चट्टानको स्वरूप भएकाले पनि यो ठाउँ सडक बनाउन उपयुक्त रहेको बताउनु भएको छ ।












