दमौली, असार २६
तनहूँको म्याग्दे गाँउपालिकाले आ.व. ०७९÷०८० को तेश्रो चौमासिक तथा वर्षभरीमा सम्पादन गरेका वार्षिक कार्यक्रम र विकास आयोजना, सुशासन तथा सेवा प्रवाह सम्वन्धमा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ४ स्थित थर्पुमा आयोजित सो कार्यक्रममा ०७९ चैत देखि २०८० असार मसान्तसम्म गाउँपालिका बाट सम्पादन भएको विभिन्न विकास आयोजना तथा सेवा प्रवाहको बारेमा आम नागरिकलाई जानकारी गराएको थियो ।
म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विषयगत शाखा प्रमुखहरु तथा वडा नम्बर ४, ६ र ७ वडासचिवहरुले तेश्रो चौमासिकमा भएको काम कारवाहीको जानकारी गराएका थिए । गाउँपालिका र वडा कार्यालय मार्फत सम्पन्न भएका काम कारवाहीमा आम नागरिकले जिज्ञासा, प्रश्न र गुनासो राखेका थिए भने सम्वन्धित प्रश्नको बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत र वडाध्यक्षले प्रष्ट पारेका थिए ।
गाउँपालिका तथा वडा कार्यालयहरुको विचमा नागरिकको सम्बन्ध र सम्बाद स्थापित गर्न र त्यस्तो सम्बन्धको माध्यमबाट गाउँपालिकाको समग्र विकास गर्न र नागरिकको प्रतक्ष्य सहभागिताको माध्यमबाट गाउँपालिकाको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाई जिम्मेबारी र जवाफदेही संस्कृतिको विकास गर्न सार्वजानिक सुनुवाईको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताए ।
स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाई गरिएको भन्दै अध्यक्ष श्रेष्ठले गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि त्यस सम्बन्धमा सार्वजनिक स्थलमा सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि जिम्मेबार संस्कृतको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको बताए ।
गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सार्वजानिक सुनुवाईको क्रममा आम जनताको गुनासो सुन्ने, समाधानका विषयमा छलफल हुने हुदाँ यसको महत्व विशिष्ट रहेको बताए । सार्ववजानिक सुनुवाईको माध्यमबाट सेवाग्राही नागरिकले उठाएका प्रश्नमा स्पष्टता ल्याउने र नागरिकबाट प्राप्त सुझावलाई ग्रहण गरि गाउँपालिकाद्वारा सम्पादन हुने कामलाई अझ नागरिक मैत्री बनाउन सहयोग पुग्ने घिमिरेले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितवहादुर रानाले स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले प्रदान गरेको अधिकारको आधारमा नै सार्वजनिक सुनुवाई गरिएको यसले गाउँपालिकालाई अझ पारदर्शी र प्रभावकारी बनाउने बताए । गाउँपालिकाबाट सन्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, बस्तु र सुविधा सार्वजानिक गरि जनताको राय सुझावको आधारमा भविष्यको नीति तथा कार्यक्रम निर्माण गर्न पनि सहयोग पुग्ने उनले बताए ।
सो कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष दिपक श्रेष्ठ, वडा नम्बर ६ अध्यक्ष हिरालाल गुरुङ्ग तथा वडा नम्बर ७ का अध्यक्ष बसन्तकुमार श्रेष्ठ, कार्यपालिका सदस्य बद्रिका भट्टराइ्र्र लगायतले मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा आर्थिक प्रशासन शाखाका प्रमुख नवराज पोख्रेल, स्वास्थ्य शाखाका प्रमुख तिलकराज घिमिरे, योजना शाखाका प्रमुख श्रीराम खनाल, जिन्सी तथा उद्योग शाखाका प्रमुख प्रदिप न्यौपाने, पुर्वाधार शाखाका प्रमुख शिव ज्ञवाली, पन्जिकरण शाखाका प्रमुख एककुमार श्रेष्ठ, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शारदा गैह्रे, शिक्षा शाखाका प्रा.स महेश भट्टराई, प्रशासन शाखाका प्रमुख इन्द्र खनाल, राजश्व शाखाका प्रमुख भिमप्रसाद सुवेदी, पशुविका शाखाका प्रमुख डा. विनय शाह, कृषि विकास शाखाका प्रमुख रुम्किता घिमिरे, रोजगार शाखाका प्रमुख पविन्द्र शाही, सुचना तथा प्रविधि र सामी परियोजना शाखा प्रमुख आकाश गुरुङ्ग तथा घर नक्सा शाखाका अमिन शेषराज पण्डित सम्बन्धित शाखाबाट सम्पादन भएका सेवा प्रवाहको बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रममा वडा नम्बर ४ की वडा सचिव सरिता सुवेदी, वडा नम्बर ६ की वडा सचिव संगिता बगाले र वडा नम्बर ७ का सचिव मुकुन्द ओलीले सम्बन्धित वडा कार्यालयबाट सम्पादन भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।
सो कार्यक्रमको सहजिकरण लोकवाणी पब्लिकेशनका सम्पादक प्रकाशचन्द्र भट्टराईले गरेका थिए । सो अवसरमा सेवाग्राहीहरुले विभिन्न विषयमा प्रश्न र जिज्ञासा राखेका थिए ।