काठमाडौं, साउन १७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली राजनीति दुई धारमा विभाजन भएको बताएका छन् । तुल्सीलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राष्ट्रिय हितको रक्षा संवर्धन गर्ने धार र गठबन्धनको धारा गरी देश दुई धारमा विभाजन भएको बताएका हुन् ।



सत्ताधारीले खुट्टा टेक्न नदिएको अवस्थामा पनि उठेर आएको कम्युनिष्ट पार्टीलाई अब कसैले छुन नसक्ने ठोकुवा पनि ओलीले गरे । अहिले पनि जनताबाट विस्थापित गर्न एमालेविरुद्ध विभिन्न खालका गलत प्रचार गर्ने काम भइरहेका भन्दै उनले अव जस्ताको तस्तै जवाफ दिनुपर्ने आवश्यकता औल्याए ।
एमालेको आन्दोलन जनताको आन्दोलन र राष्ट्रियताताको आन्दोलन भएकोले कसैले समाप्त पार्न नसक्ने उनले बताए । ‘हामी बाहेक अरूले देश चलाउनै सकेनन, अब सक्दैनन, १० टाउके भएर चलाउँदा पनि चलाउन सकेनन’, अध्यक्ष ओलीले भने ।

ओलीले अहिलेको सरकार खुलेयाम तस्करीको धन्दा चलाइरहेको तथ्य पनि राखे । सियो पनि छिराउन नसक्ने विमानस्थलबाट दिनको क्विन्टल सुन सरकारले सेटिङमा छिराएको उनको भनाई छ । ‘यो सरकार आमालाई ल्याइदिएको एउटा सिक्री खोसेर लान्छ, आफू भने दिनको सय किलो सुन छिराउँछ,’ अध्यक्ष ओलीले भने ।
सुन तस्करी घटनामा सरकार आफैँ संलग्न भएको बताउँदै अध्यक्ष ओलीले त्यसको छानबिन आयोग बनाउन भन्दा आफ्नो पोल खुल्ने भएकाले सरकारले नमानेको बताए । भन्सारबाट त्यत्रो सुन छिर्दा थाहा नपाउने सरकारले छानबिन गर्न नसक्न पनि ओलीले बताए । यही कारण एमालेले निष्पक्ष छानबिन अयोग आवश्यक रहेको अडान राखेको उनले बताए ।
सुन तस्करी प्रकरणमा सांसदले बोल्छन भनेर सरकारले संसद् समेत चल्न नदिएको पनि उनले बताए । एमाले सदन चलाउनु पर्छ भन्ने पक्षमा रहेको भए पनि सरकारले सभामुखलाई दबाब दिएर सूचना टाँस गरेर प्रतिनिधि सभा बैठक स्थगित गराएको उनको भनाई छ । मुलुकमा हाकाहाकी तस्करी भइरहेको यस्तो अवस्थामा पनि कांग्रेस पार्टी नबोलेको ओलीको भनाई छ । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई क्विन्टलका क्विन्टल सुन तस्करी भएको थाहा छ कि छैन ? भन्दै प्रश्न पनि गरे ।
अहिले देशको लागि बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उनले बताए । शान्ति सुव्यवस्था कायम गर्ने लोकतान्त्रिक शक्ति देशको आजकाले आवश्यकता रहेको ओलीको भनाई छ ।












