देवघाट, साउन २०
तनहुँको देवघाट गाउँपालिका–२ का मनिष मल्ल (बाबु ठकुरी) ले २० रोपनी जग्गा कागती लगाएका छन् । उनले लगाएको कागती अहिले लटरम्म फलेका छन्, तर दुखको कुरा पाकेका कागतीले बजार भने पाएको छैन ।




कागतीलाई बजारसम्म पु¥याउन मुस्किल भएको मल्लले बताए । स्थानीय स्तरमा कागती विक्री नहुने, कागती भएको बारीसम्म गाडी नपुग्ने र मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मुल्य धेरै पर्ने उनले बताए । त्यसमाथी बजारमा नेपाली कागतीको उचित मूल्य नै मल्लको दुखेसो छ ।

नजिक रहेको चितवनको बजारमा लैजाउँ भने निकै कम मुल्य आउने भएको कारण मल्ल कागतीको बजार खोज्दै सदरमुकाम दमौली र पोखरासम्म धाएका छन् । गाडी रिर्जव गरेर कागती पोखरासम्म पु¥याउँदा लागत धेरै पर्ने र त्यसले उत्पादन लागत पनि उठाउन कठिन हुने मल्लले बताए ।

गाउँपालिकाले नै कागतीको बजार खोज्दिने हो भने ठुलो राहत हुने उनले बताए । आफुले गाउँमै कागती फलाएर बजारको खोजी गर्दा समेत स्थानीय तहबाट कुनै सोधीखोजी नभएको मल्लले गुनासो गरे ।












