गो हत्याको विरुद्धमा देवघाटका धार्मिक संघ संस्था, चितवनमा विरोध प्रर्दशन गरिने

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ३

पुर्वि नेपालको धरानमा हालै गोरुको हत्या गरि सार्वजनिक रुपमा गोमांस भक्षणको घटना सार्वजनिक भएपछि यसले हिन्दु धर्मावलम्बीहरुलाई आक्रोशित बनाएको छ । नेपाली–नेपाली विच द्वन्द निम्त्याउने खालको यस घटनाको धार्मिक संघ संस्था, राजनीतिक दल तथा विभिन्न व्यक्तिहरुले विरोध गरेका छन् । यो कार्यलाई पुर्णतः संविधान विरोधी कार्य भन्दै उक्त घटनामा संलग्नहरुलाई कारवाही हुनुपर्ने माग गरिएको छ ।

यसै सन्दर्भमा देवघाटधामका विभिन्न संघ संस्थाहरुले उक्त गो हत्याको कार्यको विरोध र भत्र्सना गरेका छन् । देवघाटको बागेश्वरी स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले विज्ञप्ति प्रकाशित गरि यक्त घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारवाही हुनुपर्ने माग गरेको छ ।

विज्ञप्तिमा ‘गाई वात्सल्यको प्रतिमुर्ति हुन्, बिना मुल्यको औषधालय, जिज्ञासुजनका लागि रहस्यमय ज्ञानकी खानी हुन्, सेवाको प्रतिमुर्ति हुन्, सम्पुर्ण देवताहरुको वासस्थान हुन् । गाई विना हाम्रा सस्कृती अपुरो छ, हाम्रा यज्ञयाग आदी सबै कर्महरु अपुर्ण छन् । मानवमात्रकालागि अमृत स्वरुप दुधको प्रदात्री हुन गौमाता तसर्थ गोवंश प्रति गरिने अत्याचार हामिलाइ कदापि सह्य हुदैन हुदैन हुदैन ।’ भनिएको छ ।

‘सार्वजनिक रुपमा गोमांश भक्षण गर्नु अनि सधै गर्न पाउनु पर्छ भनेर भिडियो सार्वजनिक गर्नु सनातन धर्म प्रति ठाडो आक्रमण हो । नेपालको संविधानको खुल्ला उल्लंघन हो, सामाजिक एबम धार्मिक सद्भाव भडकाउने कुचेष्टा हो, जुन कार्य अत्यन्तै निन्दनीय छ । यस्ता अपराधिक क्रियाकलापमा संलग्न जो कोहि भए पनि तत्कालै कानुनी कार्वाही गर्न सरकार समक्ष जोडदार माग गर्दछौ ।’ विज्ञप्तिमा भनिएको छ ।

योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका अध्यक्ष नवराज ढकालद्वारा जारी विज्ञप्तिमा यस प्रकारका गतिविधिको अन्त्य भएन भने सनातन धर्म गोवंशको संरक्षणका निमित्त कठोर कदम चाल्न वाध्य हुने चेतावनी दिईएको छ । साथै विधर्मिहरुका यस्ता क्रियाकलापको घोर भत्र्सना एबम खेद प्रकट गर्दै सनातन धर्म एबम गोवंशको रक्षाको निम्ति सम्पुर्ण ॐकार परिवार र महानुभावमा अपिल गरिएको छ ।

यसैविच धरानमा गोरुको हत्या गरि मासु खाएको घटना सार्वजानिक भएपछि नेपाल सन्त समाजको आकस्मिक बैठक देवघाटधाममा सम्पन्न भएको छ । हरिहर सन्न्यास आश्रममका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महराजको अध्यक्षतामा धार्मिक अभियन्ताहरू सहितको बैठकमा धरान उपमहानगरपालिकामा भएको गौहत्याको विषयमा छलफल भएको थियो । कार्यक्रममा स्वामी जगन्नाथ शर्मा कडेंल, ब्रह्माचारी सुभाव चैतन्य, रङ्गराज आचार्य, लक्ष्मणाचार्य, घनश्याम पौडेल, प्रेमनिधि भारद्वाजलगायत चितवनका धार्मिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

धरानमा गोरुको हत्या गरी मासु सेवन गरेको विषयले आफूलाई धेरै दुःखी तुल्याएको १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले बताए । धर्मान्तरणका गतिविधिहरू बढ्नु, गोहत्या गरी मासु सेवन गर्नु, तथा गोहत्या गर्न पाउनुपर्ने माग सुनिनु ज्यादै निन्दनीय रहेको उनको ठम्याइ थियो । स्थानीय निकायले समेत यस्ता गतिविधिहरूको मौनसमर्थन र प्रोत्साहन गर्नु झनै दुःखद भएको उनले बताए ।

नेपालीहरूबीच आपसमा जातीय र धार्मिक विद्वेष फैलाइ देशलाई अशान्त बनाउन लागिएको उनको तर्क थियो । ‘देशमा परचक्रीहरूको गतिविधि बढाउने र क्रमशः देशलाई नै पराधीन बनाउने कुत्सित मनसायबाट परिचालित व्यक्तिहरूले नै यस्ता कुकृत्यहरू गरेका हुनसक्छन् । सम्बद्ध प्रशासनिक निकायसँग त्यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी गरी तत्काल कानुनबमोजिम कारवाही गर्न अनुरोध गर्दछौ’, उनले भने । यस्तो संवेदनशील विषयमा संयमित भई प्रतिकारका लागि व्यवस्थित रूपमा तयार रहन समेत उनले ॐकार परिवारका अनुरागीहरूलाई आह्वान गरे ।

आचार्य जगन्नाथ शर्मा कंडेलले हिन्दू धर्मसम्बन्धी सबै संघसंस्थालाई समेट्न सक्ने एउटा मूल संगठित समूह बनाएर आगामी कार्यक्रम गर्नुपर्ने बताए । उक्त भेलाले विश्व हिन्दू महासंघ, चितवनको नेतृत्वमा आगामी भदौ ५ गते मंगलबार दिउँसो ११ बजे केन्द्रीय बसपार्क भरतपुरमा वृहत् जनसभा गर्ने र चितवन जिल्ला प्रशासन कार्यालयमार्फत् जिल्ला प्रशासन कार्यालय सुनसरी र गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको कार्यक्रम सञ्चालक हरि कंडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू