भरतपुर, भदौ १९
चितवनको भरतपुरमा तिज विशेष उद्यमशील मेला आयोजना हुने भएको छ । महिला उद्यमीका उत्पादनलाई प्रवद्र्धनसँगै बजारमा पहुँच बढाउने उद्देश्यले आगामी भदौ २२ गतेदेखि भरतपुर स्थित चितवन प्रदर्शनी केन्द्रमा मेला आयोजना हुन लागेको हो ।



तीनदिन सम्म चल्ने सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, तिज विशेष सामग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलहरी) हरु, खाद्यन्नका परिकारहरु, मेहेन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतका ६० भन्दाबढी स्टलहरु रहने आयोजक महिला उद्यमी मञ्च चितवनले जनाएको छ ।

स्टलका लागि २० हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको सो मेलाको उद्घाटन भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ । मेलामा १० हजार भन्दाबढीले अवलोकन गर्ने र ५० लाखबढीको कारोवार हुने अनुमान गरिएको मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
मेलाको दोश्रो दिन भदौ २३ गते उद्यमशीलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना हुनेछ । मेलाको अन्तिम दिन भदौ २४ गते तीज विशेष प्रतियोगीता समेत हुने छ । ‘उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ शिर्षकमा उद्यमी महिलाहरुको समुहगत तिज गित प्रतियोगिता समेत आयोजना गरिनेछ ।

प्रतियोगीतामा सहभागी भएकाहरु मध्ये प्रथम हुनेले नगद २० हजार रुपैयाँ, दोश्रो हुने समुहले १५ हजार रुपैयाँ र तेश्रो हुने समुहले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सान्त्वना पुरस्कार स्वरुप एउटा समुहले नगद ५ हजार रुपैंया पाउनेछन् ।












