आवुँखैरेनी, भदौ २४
आवुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उर्जा जलश्रोत तथा सिंचाई मन्त्री शक्ति बस्नेतलाई भेट गरि आँबुखैरेनी गाँउपालिका वडा नम्बर–२ ढकालटारमा नेपाल विद्युत प्राधिकरणको नाममा रहेको हाल प्रयोग बिहिन अवस्थामा रहेको करिब १४ रोपनी जग्गा र सो जग्गामा रहेको संरचनाको संरक्षण तथा उपभोग गर्नको लागि अनुमति माग गरेका छन् ।



गाउँपालिकाका अध्यक्ष चुमानको नेतृत्वमा काठमाडौं गएको टोलीले मन्त्री बस्नेत तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरि नेपाल विद्युत प्राधिकरणको नाममा अलपत्र अवस्थामा रहेको जग्गा र भवनको उपयोग तथा संरक्षणकोलागि गाउँपालिकालाई उपलब्ध गराउन माग गरेको हो ।
गाँउपालिकाले उक्त भवन तथा जग्गामा प्राविधिक शिक्षालय सन्चालन गर्ने उद्देश्य राखेको छ । सो स्थानमा जलविद्युत केन्द्र निर्माणको समयमा कामदारहरुलाई आवास व्यवस्थापनको लागि भवन निर्माण गरेको थियो । स्थानीयहरुबाट जग्गा अधिग्रहण गरी संरचना निर्माण गरि विद्युत प्राधिकरणले तालिम केन्द्र सन्चालन गर्ने निर्णय गरे पनि हाल सम्म सन्चालन भएको छैनन् ।
द्वन्द्वकालमा सो जग्गामा माओवादी पुनस्थापना केन्द्र र नेपाली सेनाको व्यारेक राखिएको थियो । शान्तिप्रक्रियामा आएपछि सो जग्गा खाली भएको थियो । नेपाली सेनाले छोडेपछि अहिले सो जग्गा र भवनहरु खण्डहरु अवस्थामा रहेको छ ।
स्थानीय जनताको प्राविधिक विषय पढ्ने चाहाना हुँदाहुदै पनि स्थान अभावको कारणले पालिकामा प्राविधिक शिक्षालय सन्चालन गर्ने नसकेको हुदा सो जग्गामा गाउँपालिकाले प्राविधक शिक्षालय संचालन गर्ने सोंच बनाएको अध्यक्ष चुमाले बताए ।
भेटका क्रममा आँबुखैरेनीमा रहेको मस्र्याङदी जलविद्युत आयोजनाको जलायशमा मोटरबोट सन्चालनका लागि समेत अनुमति माग भएको अध्यक्ष चुमानले बताए । भेटघाटका क्रममा मन्त्री बस्नेतले गाँउपालिकाको मागमा सकारात्मक भएको पनि अध्यक्ष चुमानले जानकारी दिए ।