दमौली, असोज १५
अधिकार क्षेत्र भन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको आरोपमा पक्राउ परेका दुई जना मेडिकल सन्चालक धरौटीमा रिहा भएका छन् ।



ब्यास नगरपालिका–३ परासरटोलमा रहेको प्रजुन थापा मेडिकल हलकी सन्चालक बिष्णु कुमारी गरौजा मगर र कैलाली भजनी नगरपालिका वडा नम्बर ६ दौनहिया घर भई ब्यास नगरपालिका वडा नम्बर ३ अनसनचौतारीमा मित्रता स्वास्थ्य क्लिनिक सन्चालन गरेका ४५ बर्षिय चन्द्र बहादुर चौधरीलाई जिल्ला अदालतले जनही एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँ, ब्यास नगरपालिका, स्वास्थ्य कार्यालय तनहुँ, दमौली अस्पताल, उद्योग बाणिज्य संघ तनहुँ, जिल्ला प्रहरी कार्यालय तनहुँ र सन्चारकर्मी सहितको अनुगमन टोलीले गत विहिबार अनुगमन गर्दा अधिकार क्षेत्र भन्दा बाहिर गई विरामी उपचार गरेको पाईएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई ईलाज सम्बन्धि कसुरमा तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरिएको थियो ।
छुट्टा छुट्टै दर्ता गरिएको उक्त मुद्धामा गरौंजा मगरलाई जिल्ला न्यायाधिश दलबहादुर केसी र चौधरीलाई अर्का जिल्ला न्यायाधिश कोमलप्रसाद आचार्यको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले जानकारी दिए ।
गरौंजा मगरले प्रजुन थापा मेडिकल हलको नाममा क्लिनिक दर्ता नगरी फार्मेसीमा बिरामी जाँच गरेको तथा बिरामीलाई ईन्जेकसन मार्फत उपचार गराएको अनुगमनमा भेटिएको थियो भने चौधरीले सन्चालन गरेको मित्रता स्वास्थ्य क्लिनिनमा डाक्टर नभएको, आफै औषधी सिफारिस गरेको, डेंगु पोजेटिभ बिरामीहरुलाई ईन्जेक्सन, ट्याबलेट र एन्टिबायोटिक्सको माध्यमबाट उपचार गराएको भेटिएपछि पक्राउ गरिएको थियो ।












