पोखरा, असोज १७
नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट आगामी नेतृत्वका लागि मायानाथ अधिकारी र नवराज शर्माका बीचमा प्रतिस्पर्धा हुने भएको छ । लमजुङका अधिकारी र म्याग्दीका शर्माबीचको प्रतिस्पर्धामा मुख्य नेताहरुलाई जोडेर प्रचार शुरु भएको छ । अधिकारी केन्द्रिय सदस्य हुन् भने शर्मा गन्डकी प्रदेश कमिटिका अध्यक्ष हुन् ।
पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन वर्तमान अध्यक्ष नवराज शर्मालाई छ भने पार्टीका सचिव पद्मा अर्याल, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी, स्थायी कमिटि सदस्य किरण गुरुङको समर्थन मायानाथ अधिकारीलाई रहेको एमाले स्रोतले बताएको छ ।
एमालेका नेताहरु पृथ्वीसुब्बा गुरुङ, पद्मा अर्याल, खगराज अधिकारी लगायतका नेताहरुबीच गण्डकी प्रदेशमा सर्वसम्मत बनाउन महासचिव शंकर पोखरेलले गरेको प्रयास सफल नभएपछि दुई समुहबीच प्रतिस्पर्धा हुने भएको हो । अध्यक्ष पदका उमेदवार मायानाथ अधिकारीलाई वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञवाली र विष्णु रिमाल, सचिव योगेश भट्टराई र पदमा अर्याल, स्थायी कमिटि सदस्यहरु खगराज अधिकारी, किरण गुरुङ लगायतका नेताहरुको समर्थन रहेको नेताहरुले बताएका छन् । नवराज शर्मालाई उपमहासचिव पृथ्वीसुब्वा लगायतका नेताहरुको समर्थन रहेको स्रोतले जानकारी दिएको छ ।
अध्यक्षका उमेदवार अधिकारी र शर्माले प्यानलै बनाएर निर्वाचनमा होमिएका छन् । अधिकारीको म्यानलबाट उपाध्यक्षमा नवलपुरका बाबुराम विक, सचिवमा कास्कीका रश्मी आचार्य, उपसचिवमा म्याग्दीका सन्तोष रावल र महिला उपसचिवमा कास्कीका मिना गुरुङका बीच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तै शर्माको प्यानलबाट उपाध्यक्षमा स्याङ्जाका मिन प्रसाद गुरुङ, सचिवमा लमजुङका धनञ्जय दवाडी, उपसचिवमा दाम बहादुर विक र महिला उपसचिवमा पर्वतकी मञ्जु अधिकारीले प्रतिस्पर्धा गर्दैछन् ।
पदाधिकारीमा प्यानल बनाएका मुख्य उमेदवारहरुले तलदेखि नै आफु अनुकुलको उमेदवार बनाउन प्रयत्न गरिरहेका छन् । यसैबीच एमाले गण्डकी प्रदेशको लेखा समितिको अध्यक्षमा बागलुङका राम बहादुर जिसी र नवलपुरका अमृत ज्ञवालीको उमेदवारी परेको छ ।