दमौली, असोज १८
तनहुँमा डेंगु सङ्क्रमण रोक्न नेपाल रेडक्रस सोसाइटी तनहुँले एक महिने अभियान थालेको छ । जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । अभियान असोज १५ देखि सुरु भएको र आगामी काक्तिक १५ गते सम्म सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले जनाएको छ ।



रेडक्रसले डेंगु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लामखुट्टेको लार्भा खोजौ र नष्ट गरौं अभियान समेत थालेको छ । अभियानको क्रममा जिल्लाका पाँच वटा सामुदायिक विद्यालयमा शिक्षक, विद्यार्थी, जूनियर÷युवा रेडक्रस सर्कललाई अभिमूखिकरण कार्यक्रम गरिने छ । कार्यक्रम हुने विद्यालयमा व्यासको निर्मल मावि, उदय मावि, आवुँखैरेनीको रामशाह मावि, म्याग्देको राधा मावि तथा शुक्लागन्डकीको पन्चमुनी मावि रहेका छन् ।
त्यस्तै घर घर तथा समुदायमा १५० जना स्वयं सेवक परिचालन गरी सचेतना सम्बन्धि सूचना प्रवाह गर्ने, समुदाय स्तरको जनचेतनाको लागि उपशाखाका स्वयंसेवक, स्वास्थ्य स्वंयसेविका, आमा समुह, युवा क्लब र वडा प्रतिनिधीहरुलाई एक पटक अभिमुखिकरण कार्यक्रम गर्ने नेपाल रेडक्रस सोसाईटी केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष प्रा.डा. कृष्णप्रसाद गौतमले बताए ।
खोजौ र नष्ट गरौं अभियानमा १२० जना स्वयं सेवक परिचालन गर्ने, रेडियो तथा पत्रपत्रिका मार्फत सुचना प्रशारण तथा प्रकाशन गर्ने, माइकिङ गर्ने, सूचना, सञ्चार तथा व्यवहार परिवर्तन सम्बन्धि सामग्री निर्माण र छपाई गर्ने कार्यक्रम तय भएको सभापति गौतमले जानकारी दिए ।
उक्त एक महिने अभियानको बारेमा जानकारी दिन विहिबार सरोकारवालाहरुसँगको समन्वयात्मक बैठक आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालयमा आयोजित बैठकमा सुरक्षा निकाय, चिकित्सक, सरकारी कार्यालय तथा स्थानीय तहका कर्मचारी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले परिक्षणको शुल्कमा एकरुपता, अस्पतालमा बेडको क्षमता थप गर्ने, बढी प्रभावित क्षेत्रमा घरदैलोमा पुगि सचेतना जगाउने कार्यक्रम गरिएको र जोखिम कायम नै रहेकोले निरन्तरता दिनु पर्ने बताए ।
सो कार्यक्रममा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारीले तनहुँमा डेंगु संक्रमणको अवस्था र दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले डेंगु रोगको बारेमा आधारभुत कुराहरुको जानकारी गराएका थिए । सो कार्यक्रमको सन्चालन रेडक्रस तनहुँका मन्त्री सुर्यचन्द्र हड्खलेले गरेका थिए ।












