दमौली, असोज १८
बलात्कार मुद्धामा मिलापत्र गराउन खोज्ने ऋषिङ गाउँपालिकाकी जनप्रतिनिधिलाई जिल्ला सरकारी वकिल कार्यालयले सह प्रतिबादीको रुपमा मुद्धा चलाएको छ ।



गत भदौ ३१ गते ऋषिङ गाउँपालिका–७ स्थित ज्यामिरेमाई आधारभुत विद्यालयका प्रअले सोही ठाउँकी ११ बर्षिया बालिकालाई बलात्कार गरेपछि सो बलात्कारको मुद्धा मिलाउन भुमिका खेलेकी ऋषिङ गाउँपालिका वडा नम्बर ७ की वडा सदस्य ५२ बर्षिया निलकुमारी थापालाई पनि प्रतिबादीको रुपमा कारवाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ ।
वडा सदस्य थापाले पीडित पक्षलाई २० हजार रुपैयाँ लिएर मिलापत्र गर्न दवाव दिएकी थिईन् । सरकारी वकिल कार्यालयले जनप्रतिनिधि भई सार्वजानिक पदमा बहाल रहेको अवस्थामा बलात्कारको घटना मिलापत्र गर्ने कार्यमा संलग्न रहेको भन्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २२७. को उपदफा ३ बमोजिम थप सजायको माग गर्दै जिल्ला अदालतमा गत असोज २ गते मुद्धा दर्ता गरिएको छ । तर मुद्धा दर्ताको समयमा उनलाई फरार प्रतिबादि देखाईएको छ ।
उक्त मुद्धामा मिलापत्र गर्न दवाव दिने वडा सदस्य थापा सहित स्थानीय अकलादेवी आमा समुहकी अध्यक्ष दिलमाया थापा, सोही आमा समुहकी कोषाध्यक्ष धनीमाया थापा र स्थानीय नरबहादुर थापा समेतलाई प्रतिबादी बनाई मुद्धा दर्ता गरेको छ । उनीहरुलाई पनि फरार प्रतिबादी देखाईएको छ ।
आफ्नी छोरीलाई शिक्षक झुलबहादुर थापाले बलात्कार गरेको भनेर गाउँलेहरुसँग सहयोग माग्न गएकी पीडितकी आमालाई वडा सदस्य थापा र आमा समुहकी अध्यक्ष र कोषाध्यक्षले साउन ३२ गते पीडकको तर्फबाट २० हजार रुपैयाँ लिएर मिल्न र मुद्धा दर्ता नगर्न दवाव दिएका थिए ।
उक्त घटनाका आरोपितहरुलाई कारवाहीको माग गर्दै पीडितकी आमाले भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । घटनापछि फरार रहेका मुख्य आरोपित थापालाई प्रहरीले भदौ ११ गते पक्राउ गरेको थियो भने मिलापत्र गर्न दवाव दिनेहरुलाई प्रहरी र सरकारी वकिल कार्यालयले फरारको सुचिमा राखेको छ ।