दमौली, असोज १९
नेकपा एमाले गन्डकी प्रदेशको प्रथम अधिवेशन विहिबार सम्पन्न भएको छ । अधिवेशनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा नवराज शर्मा बिजयी भए । त्यस्तै उपाध्यक्षमा मिनप्रसाद गुरुङ, सचिवमा धनन्जय दवाडी र उपसचिवद्वयमा दामबहादुर विक र मन्जु अधिकारी बिजयी भए ।
तनहुँका उम्मेदवार कसले कति मत पाए ?
निर्वाचनमा तनहुँका १६ जनाले विभिन्न क्लष्टरबाट सदस्यमा उम्मेदवारी दिएका थिए । त्यसमध्ये ७ जना बिजयी भएका छन् ।
प्रदेश खुला तर्फ उम्मेदवारी दिएका गन्डकी प्रदेश सभाका सांसद श्यामराजा महतले ५७८ मत ल्याएर बिजयी भए । सोही क्लष्टरबाट उम्मेदवारी दिएका भिमादका नारायण खनालले ३२२ मत र घिरिङका रणबहादुर गुरुङले ३०८ मत ल्याए । खनाल र गुरुङ दुबै पराजित भए ।
त्यस्तै आदिवासीजनजाति क्षेत्र तर्फ उम्मेदवारी दिएका घिरिङका होमबहादुर थापाले ३४८ मत ल्याई बिजयी भए ।सोही पदमा उम्मेदवारी दिएका घिरिङका रन बहादुर राना पराजित भए । रानाले ३०५ मत प्राप्त गरेका थिए ।
यसैगरी संघिय निर्वाचन क्षेत्र नम्बर १ बाट ४७३ मत प्राप्त गरि भानुका प्रेम राना बिजयी भए । सोही क्लष्टरमा उम्मेदवारी दिएका व्यासका अमर भन्डारीले ४२३ मत ल्याएका थिए । त्यसैगरी संघिय निर्वाचन क्षेत्र नम्बर २ बाट ५२७ मत ल्याएर शुक्लागन्डकीका कमल ढकाल बिजयी भए भने सोही पदमा उम्मेदवारी दिएका भिमादका धर्मराज खनालले ३६९ मत ल्याएका थिए ।
यसैगरि तनहुँ जिल्ला खुल्ला तर्फ उम्मेदवारी दिएका मध्ये ६१० मत प्राप्त गरि भिमादका मेखबहादुर थापा र ५५७ मत प्राप्त गरि भानुका रामबहादुर गुरुङ बिजयी भए । सोही क्लष्टरमा उम्मेदवारी दिएका बन्दिपुरका इन्द्रबहादुर कुँवरले ३३७ मत र शुक्लागन्डकीका रामचन्द्र उपाध्यायले २८८ मत पाएका थिए ।
यसैगरि जिल्लाको दलित कोटामा उम्मेदवारी दिएका भिमादका बाबुराम सुनारले ५३५ मत पाई बिजयी भए भने व्यासका मोहन सुनारले ३६१ मत पाएका थिए ।
यस्तै लेखा समितिको सचिवमा उम्मेदवारी दिएका भानुका कृष्णराज ढकालले २१६ मत पाए । ढकाल पराजित भए
बिजयी भएका मध्ये श्यामराजा महत, कमल ढकाल, मेखबहादुर थापा, रामबहादुर गुरुङ र बाबुराम सुनार अध्यक्षका उम्मेदवार नवराज शर्माको प्यानलमा परेका थिए । शर्माको प्यानलमा परेर पनि अमर भन्डारी भने पराजित भए ।
अध्यक्षका अर्का उम्मेदवार मायानाथ अधिकारीको प्यानलका प्रेम राना र होमबहादुर थापा मात्रै बिजयी भएका छन् ।
महिलातर्फ भने कृष्णकुमारी श्रेष्ठ, देवु विष्ट र रत्नादेवी घिमिरे सर्वसम्मत निर्वाचित भएका थिए ।