देवघाट, असोज २७
देवघाट गाउपालिका–५ स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं बार्षिक साधारणसभा शनिवार वडा नम्बर ५ स्थित हाटबजारमा सम्पन्न भयो ।



सो साधारणसभाको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष थापाले सहकारी संस्थाहरुले आफ्ना शेयर सदस्यहरुको आर्थिक उन्नतीको लागि काम गर्नु पर्ने बताए । अध्यक्ष थापाले यस सहकारी गाउँपालिकामै उत्कृष्ट सहकारी भएको हुँदा यसको उत्पादनलाई आमजनता समक्ष पु¥याउन गाउँपालिकाले पनि सहयोग गर्ने बताए ।

सहकारीकी अध्यक्ष तारादेवी पन्तको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक उद्यमी महिला सञ्जाल (सेवा) की अध्यक्ष पार्वती न्यौपाने, देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्त, देवघाट महिला सञ्जाल अध्यक्ष राधादेवी खनाल, इलाका प्रहरी कार्यालय प्रमुख कृष्णबहादुर बानिया, वडा नम्बर ५ का वडा सदस्य बुद्धिबहादुर पाण्डे, हरिहर बचत तथा ऋण सहकारी संस्थाकी एलिजा क्षेत्री, चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी पुर्व अध्यक्ष एवं सल्लाहाकार मिठुदेवी पौडेल, सल्लाहाकार राधादेवी खनाल, ठाकुर कुमारी काफ्ले, देवघाट महिला सन्जालकी उपाध्यक्ष माया शर्मा, कृषि संकलन केन्द्र एवं हाट बजार व्यवस्थापन समितिकी अध्यक्ष दिलमाया सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन अध्यक्ष तारादेवी पन्तले र आर्थिक प्रतिबेदन कोषाध्यक्ष सावित्री न्यौपानेले प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिबेदन लेखा समितिकी सदस्य अर्पणा खनालले प्रस्तुत गरेकी थिइन् । सो अवसरमा उत्कृष्ट मासिक बचत गर्ने र उत्कृष्ट कारोबार गर्ने व्यक्ति तथा समुहलाई सम्मान गरिएको थियो ।
२०६८ सालमा ११३ जना सदस्यहरुबाट स्थापन गरिएको उक्त सहकारीमा हाल देवघाट गाउँपालिकाका वडा नम्बर ५, ४ र १ का ७७२ जना शेयर सदस्यहरु रहेका छन् । सहकारीले बचत तथा ऋणसगै दुध पनि संकलन गर्छ । सहकारीले आफ्ना शेयर सदस्यबाट संकलित दुधबाट दही, घ्यु, पनिर, खुवा, आईसक्रिम र कुल्फी उत्पादन गरि विक्री गर्दै आएको सहकारीकी व्यवथापक संगिता ओझाले बताइन् ।

सहकारीको आफ्नै चक्रवर्ती डेरी उद्योगबाट उत्पादित बस्तुहरु चितवनको नारायणगढ, भरतपुर, मुग्लिङ, हेटौंडा, कावासोती, गैडाकोट लगायतका बजारहरुमा डेरी पसल मार्फत विक्रि हुँदै आएको छ भने सहकारीको भवनबाट पनि उल्लेख्य मात्रामा विक्रि हुँदै आएको ओझाले बताईन् ।

ओझाका अनुसार हाल उक्त डेरी उद्योग मार्फत मासिक १० लाखको कारोबार हुँदै आएको छ । सहकारीको विक्रि मूल्य अनुसार दूध प्रति लिटर ९५ रुपैयाँ, दहि प्रतिलिटर १३०, घ्यु प्रति लिटर १३००, पनिर प्रतिकेजी ९००, कुल्फी प्रति पिस २०, आईसक्रिम प्रतिपिस ४० र खुवा प्रति केजी १ हजार रुपैयाँ रहेको छ । यी सबै उत्पादनका दशै तिहारको अवसरका १० प्रतिशत छुट दिईएको व्यवस्थापक ओझाले बताइन् ।












