भरतपुर, असोज २८
चितवनको भरतपुरमा निर्माण भएका तीन वटा खानेपानी आयोजनाको आइतबार एकसाथ उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शारदानगर खानेपानी तथा सरसफाई आयोजना, दिव्यनगर खानेपानी आयोजना र जखडीमाई सहलगानी खानेपानी आयोजनाको एक साथ समुद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस खानेपानी आयोजनाले यहाँको जनताले स्वच्छ र गुणस्तरीय खानेपानी पिउने वातावरण बनेकोमा खुशी व्यक्त गरे । उनले महशुल घटाउने विषयमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।



सो क्रममा बोल्दै खानेपानी मन्त्री महिन्द्र राय यादवले यस खानेपानी आयोजना समयमै सम्पन्न गराउन योगदान दिने सबैमा धन्यवाद दिए । उनले भरतपुरमा खानेपानीको समस्या समाधान गर्न केन्द्र सरकार आफ्नो तर्फबाट लागि परेको बताए ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आगामि दुई वर्षभित्रमा भरतपुरमा शतप्रतिशत खानेपानीको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । उनले उद्घाटन गरेको तीन आयोजनाबाट भरतपुरबासी खानेपानीको समस्याबाट मुक्त भएको बताइन् । तीन वटा खानेपानी आयोजनाबाट ८ हजार ७८७ घरधुरी लाभान्वित भएका छन् ।
समुद्घाटन कार्यक्रम शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी अध्यक्ष सन्तमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।












