बुद्धसिंह मार्गमा कालोपत्र गर्न पक्की नाला निर्माण सुरु

Devghat Online

शेयर गरौ

दमौली, मंसिर २७

पोखरा–मुुग्लीन र मुुग्लीन–नारायणघाट सडकको वैकल्पिक मानिएको बुुद्धसिंह मार्गको दमौली देखि सुँढे सम्मको १० किलोमिटर दुुरीको सडक आक्सफाल्ट प्रबिधिको कालोपत्र गर्न ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम शुुरु गरेको छ । निर्माण कम्पनीले कालोपत्र गर्नु अघिको पक्की नाला निर्माणको काम सुरु गरेको छ ।

पृथ्वीराजमार्गको बैकल्पिक सडकको रुपमा लिईएको यस सडकलाई प्राथामिकतामा राखी कालोपत्रेको काम सुरु गरिएको हो । पृथ्वीराजमार्ग भन्दा बुद्वसिं मार्ग हुदै चितवनको घुमाउने पुग्न करिब २२ किमि दुरी छोटो पर्ने भएकाले यस मार्गलाई प्राथामिकतामा राखेर काम गरिएको गन्डकी प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले जनाएको छ ।

दमौलीदेखि सुडेसम्मको करिब दश किमि दुरीसम्म आक्सफाल्ट प्रबिधिको कालोपत्र लागि पक्की नाला निर्माणको काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख श्रीकृष्ण आचार्यले बताए । कूल ३२ किलोमिटर दुरीमध्ये यसबर्ष दश किमि सडकमा कालोपत्रका लागि बजेट बिनियोजित भएपछि निर्माणका प्रक्रिया अघि बढाइएको उनले बताए ।

सडक कालोपत्रका लागि भ्याट सहित ३४ करोड २७ लाख ४५ हजार पाँच सय एकसठ्ठी रुपैयाँमा मैनाचुली÷सफल जेभी काठमाडौंले ठेक्का सम्झौता गरी काम सुरु गरेको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरी २०८२ जेठ ३० गते सम्झौता अवधिभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको आचार्यले बताए । निर्माण सम्झौता अनुसार आक्सफाल्ट प्रबिधिको कालोपत्र, पक्की नाला, कटिङ र कल्भर्ट समेत निमार्ण गरिने छ ।

निर्माण कम्पनीका स्थानीय प्रतिनिधि विष्णुराज तिवारीले आगामी असार मसान्तसम्म सक्ने गरि पक्की नाला निर्माण सुरु गरिएको बताए । पक्की नाला निर्माणकोलागि बजेट अभाव नभएको हुँदा धमाधम काम भईरहेको तिवारीले बताए । नाला निर्माणपछि कालोपत्रको काम सुरु गरिने र सम्झौता अनुसारकै समयमा सबै काम सकिने उनले बताए । पक्की नाला निर्माण र कालोपत्र सुंढेको पुलबाट व्यास ३ को देउराली नगरको बुल्दि खोलाको पुलसम्म गरिनेछ ।

प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री रेशम जुग्जालीले गत महिना उक्त सडकको निरिक्षण गरि गुणस्रतीय काम र सम्झौता अनुसारकै समयका काम सक्न निर्माण कम्पनीलाई निर्दशन दिएपछि नाला निर्माण कार्यले गति लिएको हो । सुंढेसम्मको सडक चौडा बनाउने काम सम्पन्न भईसकेको र अव नाला निर्माण पछि कालोपत्रको काम सुरु गरिहाल्ने निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू