देवघाटका जनतासँग सांसद वाग्ले–देवघाटको भौतिक र आर्थिक विकासलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर ३०

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले देवघाटको भौतिक विकास र आर्थिक विकासलाई प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार देवघाट गाउँपालिकाको वडा नम्बर २ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा बोल्दै सांसद वाग्लेलले यस क्षेत्रको विकासकोलागि सक्दो काम गर्ने बताए ।

देवघाटको पुल, बाटो, खानेपानी, बिजुली र समग्र आर्थिक विकास र रोजगारीलाई प्राथमिकता दिएर काम गर्ने वाग्लेले बताए । देवघाटको विभिन्न वडामा अझैपनि बिजुली नपुगेको बारेमा आफुले पहिलो पटक जानकारी पाएको भन्दै उनले विजुली नपुगेका ठाउँमा बिजुली ल्याउनकोलागि काठमाडौं फर्केपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गर्ने बताए ।

गाउँमा युवा पलायनको दर निकै बढेको भन्दै उनले युवाहरुलाई गाउँमै अड्याउनकोलागि भौतिक विकास र रोजगारीको अवसर सिर्जना गर्नु पर्ने भन्दै उनले यससँगै कृषि र सिंचाईलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताए ।

भौतिक विकासको काम गर्नकोलागि सांसदसँग केही बजेट नहुने भन्दै वाग्लेले सबै बजेट सरकार र दातृ निकायसँग मागेर नै चलाउनु पर्ने हुँदा आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न सरकारमा डेलिगेशन गएर भएपनि बजेट ल्याई छाड्ने बताए ।
३० बर्षमा त जसरी पनि देश बनाउन सकिने भन्दै उनले यस अघिका दलहरुले देशको ३० बर्ष खेर फालेको आरोप उनले लगाए । ‘त्यही भएर हामी राजनीतिमा आएका हौं’ वाग्लेले भने ‘सोच स्पष्ट, नियत स्पष्ट र क्षमता भएको मान्छे राजनीतिमा चाहिन्छ, राजनीतिलाई जागिर र कमाउने माध्यम बनाउने मान्छेलाई अवसर दिनु हुँदैन ।’

आफु भ्रष्टाचारबाट सँधै टाढा रहने भन्दै उनले तनहुँका जनताले गर्व गर्ने सांसद बन्ने प्रतिबद्धता जनाए । ‘म बिगार्ने र भत्काउने काम गर्दिन’ उनले भने‘ सकेसम्म बनाउने, सपार्ने र सुधार्ने काम मात्र गर्छु ।’ सो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विश्व वास्तोलाले पनि मन्तव्य राखेका थिए ।

देवघाट गाउँपालिकाको विभिन्न ठाउँमा जनतासँग भेटघाटकोलागि सांसद वाग्ले शुक्रबार देवघाट आएका थिए । उनी शुक्रबार वडा नम्बर ५ को साँढेबगर हुँदै वडा नम्बर १ को कोटा गएका थिए भने कोटाको कार्यक्रम पश्चात शुक्रबार साँझ वडा नम्बर २ को करादिप होमस्टे पुगेका थिए ।

यस्तै शनिबार विहान वडा नम्बर २ को आदर्श मावि खाल्टेमा भेटघाट, त्यसपछि क्रमशः तालबारी, व्यागन हुँदै वडा नम्बर ३ को नरम, छिपछिपे हुँदै लुङग्रिङ स्थित वडा कार्यालय भवनमा भेटघाट कार्यक्रम रहेको थियो ।

सांसद वाग्ले आईतबार घन्टाचुली, जामुने, ढड्डाघारी, डुँडे, काफलडाँडा, सिन्च्याङ हुँदै गाईघाट निस्कने र दमौली आउने कार्यक्रम रहेको छ । सांसद वाग्लेसँग इन्जिनियर श्रीराम न्यौपाने, रास्वपाका नेता विश्व बास्तोला, तनहुँ जिल्ला संयोजक विकास सिग्देल, देवघाटका संयोजक बलबहादुर क्षेत्री, सह संयोजक गोविन्द न्यौपाने लगायतका नेताहरु छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको