आबुँखैरेनी, पुस २२
आबुँखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकको स्वास्थ्य विमा गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत नीति तथा कार्यक्रम बमोजिम सामुदायीक बिद्यालयमा अध्ययनरत बिद्यार्थी तथा अभिभावकहरुको स्वास्थ्य बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
समुदायीक शिक्षा सुधार कार्यक्रम अन्तर्गत गाउँपालिकाले यस कार्यक्रम सञ्चालन गर्न लागेको अध्यक्ष शुक्र चुमानले बताए । उक्त कार्यक्रम अन्तर्गत पहिलो चरणमा चालु आर्थिक वर्षमा भौगोलिक रुपमा बिकट तथा आर्थिक रूपले पिछडिएको वडा नम्बर ४, ५ र ६ गरी ३ वटा वडाहरुमा यो कार्यक्रम सञ्चालन गर्न लागीएको हो ।
उक्त कार्यक्रम सन्चालनकोलागि आवश्यक नीति र बजेटको व्यवस्थापन गरिसकेको गाउँपालिकाले जनाएको छ । सो कार्यक्रम सन्चालन गर्नको लागी सम्बन्धित बिद्यालयको सिफारिस सहित सम्बन्धित वडा कार्यालयबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने जस्ता कार्य अगाडी बढाइनेछ ।
माघ महीना भित्रमा उक्त तिन वटा वडाका सम्पूर्ण बिद्यार्थी र उनीहरूको अभिभावकको स्वास्थ्य विमा गरिसक्ने तयारी गरिएको बताईएको छ । गाउँपालिकाले आगामी बर्षहरुमा प्राथमिकताको आधारमा अन्य वडाहरुमा पनि यो कार्यक्रम विस्तार गर्ने लक्ष्य राखेको अध्यक्ष चुमानले बताए ।
गाउँपालिकाले सामुदायिक शिक्षा सुधार कार्यक्रम अन्तर्गत गत बर्षदेखि नै विद्यालयहरुमा, पोशाक, फर्नीचर, टेलिभिजन प्रदान तथा कक्षा ६ का विद्यार्थीलाई आन्तरिक श्रोतबाट दिवा खाजा ब्यबस्थापन गर्दै आएको छ । त्यस्तै कक्षा १२ सम्म निःशुल्क शिक्षा, बिद्यालय भवन मर्मत, विपन्न बिद्यार्थीहरुलाई स्कूल पोशाक स्टेशनरी सामग्री÷खाद्यान्न व्यवस्थापन, निःशुल्क बिद्यालय बस व्यवस्थापन जस्ता कार्यक्रम सञ्चालन गर्दै आईरहेकोमा थप स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।