सिमरा, पुस २५
बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सदस्य तथा पुर्व मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले जितपुर सिमरा उपमहानगरपालिका-३ बजनी स्थित साख: स्टिलमा कार्यरत मजदुरको समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार बिहान आफ्ना समस्या लिएर सांसद श्रेष्ठलाई भेट्न आएका स्टिल उद्योगका मजदुरहरुको गुनासो सुनेपछि सांसद श्रेष्ठले मजदुरहरुको समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
जनताका समस्या सुन्दै, समाधानको प्रयास गर्दै केही दिन यता आफ्नो निर्वाचन क्षेत्र बारा–४ मा रहेका सांसद श्रेष्ठले जनतासँग नियमित भेटघाट गरी उहाँहरुको समस्या सुन्दै समाधानका लागि आवश्यक पहल गरिरहेका छन् ।
यसैक्रममा बुधबार बिहान आज साखः स्टीलमा कार्यरत मजदुरहरुसँग सांसद श्रेष्ठले भेट गरेका थिए । ‘उहाँहरुले उक्त स्टील उद्योगमा भोगेका समस्याहरु सुनेँ, जो तत्काल समाधान गर्नुपर्ने समस्या थिए । उसो त तत्कालै वीरगञ्ज श्रम कार्यालयका प्रमुखलाई सम्पर्क गरी मजदुर र उक्त उद्योग भित्रका समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेँ’ सांसद श्रेष्ठले भने ‘ उद्योग बलियो बनाउने मजदुरले हो, तर मजदूरमाथि नै समस्याको चाङ थोपरिनु आफैँमा लज्जाजनक विषय हो । त्यसैले मजदुरको आत्मबल बढाऔँ, उद्योग आफैं बलियो बन्छ ।’