दमौली, माघ २
“स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं” भन्ने मुल नाराका साथ २६ औं भूकम्प सुरक्षा दिवस व्यास नगरपालिकामा मंगलबार सचेतनाको कार्यक्रम आयोजना गरि मनाईयो ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा गण्डकी प्रदेश सभाका सांसद अशोककुमार श्रेष्ठले व्यास नगरपालिकाले भुकम्पीय जोखिम न्यूनीकरणको क्षेत्रमा उदाहरणीय तथा अनुकरणीय कार्य गरेको भन्दै नगरपालिकाको प्रशंसा गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस्तो किसिमको कार्यक्रमले नेपालमा विद्यमान भूकम्पीय जोखिमलाई कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भूकम्प सुरक्षा दिवसका दिनमा मात्र नभई सबै सरोकारवाला निकायहरुले भूकम्पीय सुरक्षित समुदाय निर्माणका लागि यस्ता सचेतनाका कार्यक्रमहरुलाई निरन्तरता दिनपर्ने साथै सुरक्षित घर निर्माणका लागि सबैले सकारात्मक भूमिका निभाउनुपर्र्ने बताए ।
प्रमुख अतिथि हुनुहुन्थ्यो भने प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतम विषेश अतिथि हुनुहुन्थ्यो । व्यास नगरपालिकाका जनप्रतिनिधि, जिल्ला स्थित अन्य सरकारी कार्यालयका प्रमुखहरु, जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष, प्रत्रकारहरु, निर्माण व्यवसायी, नगरपालिकामा दर्ता भएका परामर्शदाताहरु, जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरु समेत आम जनसमुदाय घरधनी समेतको सहभागिता रहेको थियो ।
सचेतना कार्यक्रममा भूकम्प आफैले मान्छे नमार्ने तर मान्छेले नै बनाएको संरचनाले मार्ने हुनाले क्षति न्युनीकरणको लागि भवन निर्माण संहिता अनुसार घर बनाउनुपर्ने र संरचनात्मक तथा गैरसंरचनात्मक जोखिमलाई कम गर्नको लागि भूकम्पीय अल्पीकरणका उपायहरु अपनाउनुपर्ने कुरालाई व्याख्या गरिएको थियो । साथै भूकम्प गइहालेमा नआत्तीने र आफ्नो शरिरको संवेदनशील अंगहरुलाई जोगाउनको लागि १९९० सालमा मंगलबारकै दिनमा २.२४ बजेको समयको स्मरण गर्दै सुरक्षित आसन अर्थात् “घुडा टेकि गुडुल्की ओत लागि समात” अभ्यास पनि गरेर देखाइको थियो ।
भवन निर्माण संहितालाई बोझका रुपमा नभई आफुहरुकै हितको लागि हो भनेर यसलाई सकरात्मक धारणाबाट स्वीकार्न र पालना गर्न साथै अरुलाई समेत पालना गर्न प्रोत्साहन गर्नका निम्ति सम्पूर्ण सहभागीहरुलाई आग्रह गरिएको थियो । व्यास नगरपालिकामा आ.व.२०६८÷६९ सालबाट नेपाल भवन निर्माण संहिता लागु भएको भएको हो ।
कार्यक्रममा सहभागीहरुले एक अर्काको हात समाती माथी उठाएर ‘म भूकम्पीय जोखिममा सुरक्षित हुने उपायहरु सिक्नेछु, परिवारको सबै सदस्यहरुलाई सिकाउनेछु ।’ ‘मैले बनाउने घर भूकम्प प्रतिरोधी बनाउनेछु ।’ ‘मेरो समुदायमा भूकम्पीय जोखिम न्युनीकरण सम्बन्धी जनचेतना अभिवृद्धिमा लाग्नेछु ।’ भन्ने सामुहिक प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा व्यास नगरपालिकाको भूकम्पीय जोखिम सम्बन्धी परिदृष्य तथा जोखिम न्यूनीकरणमा व्यास नगरपालिकाले चालेका कदमहरुको बारेमा ई. रविन्द्रलाल मुल र ई. अमृत केसीले प्रस्तुती दिएका थिए । कार्यक्रम सञ्चालन ई.सुवास गौतमले गरेका थिए ।