देवघाट, फागुन २९
देवघाट गाउँपालिका–५ स्थित गणेश टोलमा सन्चालनमा रहेको दिनेश कोल्ड स्टोर्शमा गत फागुन २५ गते राती भएको आगजनीबाट पीडित भएका हिरा न्यौपाने तथा उनको परिवारलाई देवघाट–५ स्थित गणेश टोल विकास संस्थाले आर्थिक सहयोग गरेको छ ।
आगजनीबाट पसलको सम्पुर्ण सामान जलेर नष्ट भएको हुँदा केही भएपनि राहत हुने उद्देश्यले टोलका बासिन्दाहरुबाट संकलित ७२ हजार ५ सय ५ रुपैयाँ मंगलबार टोल विकास संस्थाका विशिष्ट सदस्य देवीलाल गौतमले पीडित न्यौपानेलाई हस्तान्तरण गरे ।
उक्त आगजनीबाट पसलको सम्पुर्ण सामान जल्दा करिब १३ लाखको क्षति भएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ ।
देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठका अनुसार बन्द भएको सटर भित्रबाट एक्कासी आगो लागेको थियो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको श्रेष्ठले बताए ।
फलफुल तथा पुजा सामाग्रीको उक्त पसल शुक्रबार साँझ बन्द गरेर पसल सन्चालकहरु सोही घरको माथिल्लो तलामा बसिरहेको समयमा एक्कासी सटर भित्रबाट आगो लागेको देखिएको थियो ।
गणेश टोल निवासी समाजसेवी शिवराज पौडेलले आगजनीबाट पीडित भएका न्यौपानेलाई तत्कालको लागि राहत दिने उद्देश्यले टोलका बासिन्दाहरुबाट संकलित उक्त रकम हस्तान्तरण गरिएको बताए । राहत रकम सहयोग गर्ने सबै टोलबासीलाई पौडेलले धन्यवाद समेत दिएका छन् ।