देवघाट, फागुन २९
देवघाटधाम जेसीजको बोर्ड बैठक त्रिशुली नदीको उद्गम स्थल गोसाईकुन्डमा हालै सम्पन्न भएको छ ।
देवघाटधाम जेसीजको तेश्रो पुर्ण बैठक गत फागुन २६ गते त्रिशुली नदीको उद्गम स्थल रसुवा जिल्लाको गोसाइकुन्डमा सम्पन्न भएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।
देवघाट गाउँपालिका भित्र रहेको विभिन्न पर्यटकिय क्षेत्रहरूको प्रचारप्रसार गर्ने उद्देश्यले गोसाईकुण्ड सम्म यात्रा गरेको देवघाटधाम जेसीजको टोलीले उक्त स्थानमा बोर्ड बैठक सम्पन्न गरेको अध्यक्ष मल्लले जानकारी दिए । उक्त बैठक ऐतिहाँसिक भएको उनको भनाई छ ।
गोसाईकुन्डबाट बगेर आएको त्रिशुली देवघाटधाममा कालिगन्डकीसँग मिसिएपछि नारायणी नदीको रुपमा बग्छ । पवित्र धार्मिक स्थल गोसाईकुन्डबाट आएको त्रिशुली नदीले देवघाटको धार्मिक महत्वलाई अझ बढाएको हुँदा देवघाट जेसीजले देवघाटधाम र गोसाईकुन्डको सम्बन्ध दर्शाउन बोर्ड बैठक गोसाईकुन्डमा राखिएको महासचिव प्रशन्न ढकालले बताए ।
उक्त बैठकले देवघाट जेसीजको तर्फबाट आगामी दिनमा गरिने कार्यक्रमहरूको बारेमा छलफल र विशेष गरि धार्मिक पर्यटकिय क्षेत्र देवघाटधाममा नव वर्ष २०८१ अवसरमा आउने सम्पुर्ण भक्तजन तथा पर्यटकहरूलाई स्वागत तथा सम्मान गर्ने निर्णय गरिएको महसचिव ढकालले बताए । साथै देवघाटधाम जेसीजले गत महिनामा सम्पन्न गरेका कार्यक्रमहरुको बारेपनि बैठकमा समिक्षा भएको उनले बताए ।