देवघाट, फागुन ३०
क्षयरोगको कारणबाट गत साउन महिना देवघाट गाउँपालिकामा १ जनाको मृत्यु भएको छ । धर्मार्थ अस्पताल देवघाटमा क्षयरोगको नियमित औषधी सेवन गरिरहेका उनको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार देवघाट गाउँपालिकामा गत साउन महिना यता क्षयरोगका १३ जना विरामी भेटिएका छन् । उनीहरुले निशुल्क औषधी सेवन गरिरहेका छन् ।
तनहुँ जिल्ला भर भने गत श्रावण महिनादेखि पौष महिनासम्म ६ महिनाको अवधिमा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा व्यास नगरपालिकामा ३ जना, भानु नगरपालिकामा १ जना, बन्दीपुर गाउँपालिकामा १ जना, देवघाट गाउँपालिकामा १ जना र भिमाद नगरपालिकामा १ जना रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
क्षयरोगको संक्रमित मध्ये पनि व्यास नगरपालिकामा सवैभन्दा धेरै ५६ जना रहेका छन् । त्यसपछि क्रमशः भानु नगरपालिकामा २० जना, शुक्लागण्डकी नगरपालिकामा २० जना, भिमाद नगरपालिकामा १३ जना, आँबुखैरेनी गाउँपालिकामा १२ जना, घिरिङ गाउँपालिकामा ७ जना, बन्दीपुर गाउँपालिकामा ७ जना, म्याग्दे गाउँपालिकामा ६ जना र रिसिङ गाउँपालिकामा ३ जना गरी जम्मा तनहुँ जिल्लामा १५७ जना बिरामी रहेको स्वास्थ्य कार्यालयका क्षयरोग सम्बन्धि फोकल पर्सन सुदिप कडेंलले जानकारी दिए ।
क्षयरोगको नियन्त्रणकोलागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निशुल्क औसधीको कार्यक्रम सन्चालन भईरहेको कडेंलले बताए । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको कंडेलले बताए ।
क्षयरोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ । क्षयरोग लागेको व्यक्तिले नियमित औषधी सेवन गरेमा यसबाट बच्न सकिने कडेंलले बताए ।
क्षयरोगको निदान औषधिबाटै हुने तथा शल्यक्रिया गर्नुनपर्ने भन्दै उनले यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ र यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने बताए ।