प्रकाशचन्द्र भट्टराई
देवघाट
तनहुँ जिल्लाको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल, प्राचीन पुराणहरुमा आदिप्रयाग हरिहर क्षेत्रका नामले वर्णित देवताहरुको तपोभूमी देवघाटधाममा रहेको गलेश्वर आश्रम धामिर्क तथा शैक्षिक उन्नयनको केन्द्रको रुपमा विकास हुँदै गएको छ । तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले आफ्नो साधनास्थलको रुपमा कालीगण्डकीलाई पच्छ्याउने क्रममा वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गर्नुभयो । सोही आश्रमलाई गलेश्वर आश्रमको रुपमा चिनिन्छ ।
गलेश्वर बाबाले संस्कृतिको आधारशिला संस्कृत वाङ्मय हो भन्ने मर्मलाई हृदयङ्गम गरी वैदिक सनातन धर्मबाट समस्त मानवजातिको कल्याण होस् भन्ने उद्देश्य राखी वि.सं. २०२३ साल पौष २७ गते पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) का दिन श्री वदे वेदाङ्ग विद्यालयको नामबाट गुरुकुलीय शिक्षापद्धति अनुसार संस्कृत पाठशालाको स्थापना गर्नुभएको थियो । विद्यालयको अभिलेख अनुसार यस विद्यालयले वि.सं.२०२४ साल चैत्र १२ गते अस्थायी अनुमति पाई गुरुकुलीय पद्धति अनुसार वेदाध्ययन गराउँदै आएको थियो ।
वि.सं.२०३२ साल जेष्ठ शुक्ल द्वितीयाका दिन गलेश्वर बाबा ब्रह्मलीन भएपश्चात् आश्रमका दोस्रो पीठाधीशका रुपमा बाबाका ब्रह्मचारी शिष्य सन्त श्री १००८ स्वामी आशुतोषानन्द सरस्वतीजी महाराज रहनु भएको थियो । उहाँले आश्रम र गुरुकुल सञ्चालनलाई निरन्तरता दिनुभयो । त्यसपछि आश्रमका तेस्रो पीठाधीशका रुपमा वि.सं.२०४३ सालदेखि राष्ट्रसन्त श्री १००८ स्वामी परमानन्द सरस्वतीजी महाराज रही निरन्तर रुपमा आश्रम र गुरुकुल सञ्चालन गर्नुभयो ।
त्यसपछि वि.सं.२०५३ सालमा यस आश्रमलाई भौतिक, शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा विकास गर्नसक्ने योग्य तपोनिष्ठ क्षमतावान् सन्त हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज पिठाधिश हुुनुभयो । तत्पश्चात उहाँकै नेतृत्वमा आश्रमले संस्थागत विकास गर्दै आएको छ । हाल आश्रमले भौतिक, सामाजिक, धार्मिक, आध्यात्मिक र शैक्षिक विकासमा पूर्णता प्राप्त गर्न सफल भएको छ ।
आश्रम अन्तर्गत एक सय ८५ वटा कुटी छन् । त्यसैगरी सिद्धेश्वर महादेव, ज्योतिर्लिङ्गश्वर महादेव, गङ्गामाला मन्दिर, सहक्षल्पेश्वर हनुमान मन्दिर राधाकृष्ण मन्दिर, १०८ नर्मदेश्वर शिवलिङ्ग, महाकालेश्वर शिवालय, राधाकृष्ण मन्दिर र वृद्धेश्वर महादेव मन्दिर रहेका छन् ।
आश्रम अन्तर्गतको धर्मशालामा पुरुष र महिला यात्रुका लागि दुईवटा हल, २२ कोठा र सुविधासम्पन्न शौचालय एवं स्नानकक्ष छन । तीर्थयात्रीका लागि निशुल्क वास र भोजनको व्यवस्था आश्रमले मिलाएको छ । आश्रम अन्तर्गत प्रवचन हल, गोष्ठी सेमिनार हल, कीर्तन हल र करिव सय कोठाको साधक भवन रहेको छ । करिव रु १५ करोड लगानीमा वेदवेदाङ्ग संस्कृत विद्यापीठ भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
गलेश्वर आश्रम सन्चालनकालागि महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा १३ सदस्यिय सञ्चालक समिति पनि रहेको छ । हालै सम्पन्न आश्रमको २९ औं साधारणसभाले आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजको अध्यक्षतामा सो सन्चालक समिति गठन गरेको हो ।
सन्चालक समितिमा आश्रमका स्वामी अद्वैतानन्द गिरी, गैंडाकोट–८ नवलपुरका भोजराज पौडेल, कलंकी काठमाडौंका एकारत्न आचार्य, विदुर नगरपालिका नुवाकोटका महेन्द्र प्याकुरेल, रामनगर चितवनका राजेन्द्रप्रसाद अर्याल, नक्साल काठमाडौंका सुशीलकुमार पन्त, बसुन्धरा काठमाडौंका सुनिलपाणि गौतम, बाँसबारी काठमाडौंका विष्णु पोखेल, मित्रपार्क काठमाडौंका डा.वासुदेवकृष्ण शास्त्री, भरतपुर–२ चितवनका प्रा.डा. मनोहरलाल प्रधान, टोखा काठमाडौंका दीपक कुँवर र टाँडी चितवनका रामहरि अर्याल रहेका छन् ।
स्थायी अन्नक्षेत्रको सञ्चालन
आश्रममा आश्रित साधु–सन्त, भक्तजन, वृद्धवद्धा, वेद वेदाङ्ग विद्यालयका अध्यापक, अध्येता, ब्रह्मचारी बटुकका लागि नित्य भोजन र अन्य अतिथिका लागि दुई छाक) निःशुल्क भोजनको व्यवस्था आश्रमले मिलाएको छ । ३ सय जनाले एकैसाथ भोजन गर्न मिल्ने भोजनालय सञ्चालनमा छ ।
स्थायी अन्न क्षेत्रलाई दिगो सञ्चालन गर्न दानदाता महानुभावहरूले आफनो जन्मदिन अथवा पितृहरूको तिथिमा वा कोही कसैको नाममा अक्षयकोषमा न्युनतम १५ हजार रुपैयाँसम्म रकम जम्मा गन सक्ने व्यवस्था रहेको छ । सो को व्याजबाट अन्नक्षेत्र नियमित रुपमा सञ्चालन भएको छ । दाताहरूको पितृको सम्झनामा वा विशेष दिनको उपलक्ष्यमा विशेष भण्डाराको समेत व्यवस्था गरिन्छ । पितृहरूको तिथिका दिन प्रातः व्राह्मणद्रारा नदी किनारमा संकल्प गरी तर्पण गर्ने र जन्मदिनको उपलक्ष्यमा शिवालयको नियमित पूजामा संकल्प सहित स्द्राभिषेक गर्ने गरिन्छ ।
वेद वेदाङ्ग विद्यालयको सञ्चालन
विभिन्न पुराणहरूमा कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगमस्थल, आदिप्रयाग, हरिहर क्षेत्र, देवताहरूको तपोभूमिजस्ता अनेक नामले देवघाटको वर्णन गरिएको छ । यसै पवित्र पावन क्षेत्रमा वैदिक सनातन धर्मसंस्कृति र संस्कृत वाङ्मयलाई हृदयङ्गम गर्दै वैदिक सनातन धर्मलाई संरक्षण गर्ने उद्देश्यले २०२३ साल पौष २७ गतेका दिन सिद्घयोगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले श्री वेद वेदाङ्ग विद्यालयको स्थापना गर्नुभएको थियो । गुरुकुलीय शिक्षा पद्धतिलाई अवलम्बन गरी संस्कृत पाठशालाको रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्दै आइरहेको यो विद्यालय अहिले सार्वजनिक गुठी अन्तर्गत श्री गलेश्वर आश्रमबाट सञ्चालनमा रहेको छ ।
समयको अन्तरालसँगै विद्यालयले विभिन्न अप्ठ्यारा सप्ठ्यारा परिस्थितिहरू पार गर्दै आइरहेको छ । विगतमा विद्यालय सञ्चालन गर्नका निमित्त ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)को अमूल्य योगदान रह्यो । गलेश्वर बाबापश्चात् उहाँका उत्तराधिकारीहरु क्रमशः श्री १००८ स्वामी आशुतोषानन्द(दण्डी स्वामी) तथा श्री १००८ स्वामी परमानन्द सरस्वती तथा हालका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरि महाराजलको संरकक्षकत्वमा उक्त विद्यालय सन्चालन भईरहेको छ । यसलाई सञ्चालनार्थ अक्षयकोषको स्थापना गरी विभिन्न भक्तजन, धर्मानुरागी महानुभावहरूबाट प्राप्त सहयोगबाट निःशुल्क भोजन सुविधा सम्पन्न आवास तथा प्राथमिक औषधो पचारसहित आधुनिक पद्धतिअनुसारको गुरुकुलीय संस्कृत शिक्षा प्रदान भइरहेको छ ।
अस्थायी रूपपमा सञ्चालन भई पूर्ण गुरुकुलीय शिक्षण शैलीमा पाठशाला मात्र रहेको यस विद्यालयले २०५८ सालमा तत्कालीन श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट कक्षा ८ सम्मको स्थायी अनुमति प्राप्त गरी कक्षागत विद्यालयीय पद्धतिमा सञ्चालन भयो । वि.सं. २०६३ मा कक्षा ९ र २०६४ सालमा कक्षा १० सम्मको स्थायी अनुमति प्राप्त गरी २०६४ सालबाट एसएलसी परीक्षा बोर्डमा आबद्ध भएको थियो । २०७५ सालबाट राष्ट्रिय परीक्षा बोर्डसँग सम्बद्ध हुने गरी स्थानीय निकायबाट अनुमति लिई कक्षा १२ सम्म संस्कृत व्याकरण, ज्योतिष, साहित्य आदि विषयसहितको आधुनिक शिक्षा पनि निःशुल्क रूपमा प्रदान गरिएको छ ।
करिब दश रोपनीको क्षेत्रफलमा श्री वेद वेदाङ्ग विद्यालय कक्षा ६ देखि कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । सो स्थानमा तीनवटा भवनमा करिब २६ वटा कोठाहरू रहेका छन् । कार्यालय, कक्षा कोठा, आवास कोठा, पुस्तकालय लगायत शौचालय पनि पर्याप्त नै रहेको छ तर हाल विद्यार्थीको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि र विद्यालयले अनुमति प्राप्त गर्न अघि बढेको शास्त्री तहको प्रक्रियालाई पनि मध्यनजर गरी अर्को करिब १५ रोपनी जग्गासहितको स्थानमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्यूटर कक्ष, सभाहल र आवाससमेत व्यवस्थापन हुने गरी भूकम्प प्रतिरोधात्मक विशाल भवन निर्माण भएको छ भने करिब २५ रोपनी जग्गामा खेलमैदान समेत रहेको छ । ४ तले सो भवनमा ४० वटा कोठाहरू पूर्णरूपमा तयार भइसकेका छन् ।
देवघाट एनआरएन वृद्धाश्रम सञ्चालन
पीठाधीश स्वामीजीको शुभ संकल्प अनुसार गलेश्वर आश्रममद्वारा वृद्ध आमा बुबाहरूको सेवा गर्नको लागि गैह्रआवसीय नेपाली संघद्वारा निर्मित २५, कोठे आधुनिक भवनमा बृद्राश्रम सञ्चालित छ ।
देवघाट धर्मार्थ अस्पतालको सञ्चालन
वि.सं. २०५७ सालदेखि आत्मानन्द धर्मार्थ औषधालयको रुपमा सञ्चालनमा रहेको औषधालयलाई हाल देवघाट घर्मार्थ अस्पतालको नामबाट सञ्चालन गरिएको छ । निःशुल्क स्वास्थ्य परीक्षण, निःशुल्क औषधी वितरणका साथै असक्त बिरामीहरूको सेवा गर्न १५ शैयाको लागि भौतिक संरचना तयार छ ।
देवाघाट धर्मार्थ अस्पतालले थप सेवा सुविधा प्रदान गर्ने उद्देश्यले व्यवस्थापनमा आश्रमको सहभागिता सहित मिति २०७५ श्रावण १ गतेदेखि यस अस्पताल देवघाट गाउँपालिकालाई सञ्चालनको दायित्वसहित हस्तान्तरण गरेको थियो ।
यसैगरि आश्रमले विविध ग्रन्थहरूको प्रकाशन तथा पुस्तकालयको सञ्चालन गरेको छ ।