दुलेगौंडा, चैत १२
शुक्लागण्डकी नपा–६, खैरेनीटारका ७० बर्षिय मानबहादुर कुमालको परिपवारमा एकै परिवार ५ मध्ये ४ जना विरामी परेका छन् । काम गर्न सक्ने सबै विरामी परेपछि उपचारमा सहयोग गर्न उनीहरुले अनुरोध गरेका छन् ।
५ जनाको परिवार रहेको परिवारका जेष्ठ सदस्य ७० बर्षिय मानबहादुर कुमाल ४ बर्षदेखि ओछ्यानमा छन् । खुट्टा झमझमाउने लगायतका समस्याले उनी उभिन समेत सक्दैनन् । त्यस्तै उनका छोरा ३९ बर्षिय तिलबहादुर मिर्गाैला पीडित छन् । मिर्गाैला फेल भएपछि आमाले मिर्गाैला २०७१ सालमा दिएर छोरा तिल बहादुरले प्रत्यारोपण गरेका थिए । नियमित औषधी सेवन गरिरहेका तिल बहादुर अहिले ज्वरोले थलिएका छन् ।
छोरालाई मिर्गौला दिएर बचाएकी ६९ बर्षिया आमा टुकमाया पनि अहिले बिरामी परेकी छिन् । टुकमायाको स्वास्थ्य कमजोर अहिले हुदै गएको छ । उनी पनि केही काम गर्न सक्दिनन् । तिलबहादुरकी श्रीमती शान्ति पनि अहिले विरामी भइ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत छिन् ।
सो परिवारमा अहिले तिल बहादुरका छोरा मात्र स्वस्थ्य रहेका छन् । उनी कक्षा ७ मा अध्ययनरत छन् । परिवारका सबै जना अभिभावक विरामी परेपछि उनको पनि पढाई तथा मानसिक अवस्था कमजोर हुँदै गएको छ । उनी नियमित विद्यालय जान पाउँदैनन् ।
औषधी उपचारमा परिवारका सबै सदस्यलाई मासिक रुपमा ठूलो रकम जोहोगर्नुपर्ने बाध्यताले मानबहादुरको परिवारलाई जीवन निर्वाह गर्न समस्या हुदै गएको छ । मनबहादुरकी श्रीमती टुकमायाले आफुहरुको उपचारमा सबैले सहयोग गरिदिएमा बाच्ने आशा पलाउने बताइन् ।
यसैबीच दुलेगौंडाकी व्यवसायी एवम् समाजसेवी विर्सना श्रेष्ठको नेतृत्वमा संकलित ३० हजार १ सय ७५ रुपैयाँ शुक्रवार हस्तान्तरण गरिएको छ । परिवारका सबै सदस्यहरु विरामी भई आर्थिक रुपमा समस्या भएको थाहा पाएपछि साथीभाई र इष्टमित्रलाई आग्रह गरेर सो रकम संकलन गरिएको श्रेष्ठले जानकारी दिइन् । सहयोग रकमले आफूहरुलाई राहत पुगेको टुकमायाले बताइन् ।
यसैविच शुक्लागन्डकी नगरपालिकाका कार्यपालिका सदस्य खिमबहादुर कुमालले तिल बहादुरका छोराको अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।