दमौली, चैत १२
म्याग्दे गाउँपालिकामा सन्चालित एकिकृत घुम्ती शिविरमा ९ हजार ३ सय ५३ जना नागरिक लाभान्वित भएका छन् । ‘स्वच्छ, सभ्य, समृद्ध म्याग्देको आधारः कृषि,पर्यटन र पुर्वाधारलाई मुल आधार’ भन्ने नारा सहित म्याग्दे गाँउपालिकाले ७ वटै वडाका टोलस्तरमा गत फागुन २१ देखी चैत ८ गतेसम्म एकिकृत घुम्ति शिविर सन्चालन गरेको थियो । उक्त शिविरमा कुल ९ हजार ३ सय ५३ सेवाग्राही लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।
शिविरवाट लाभ लिनेहरु मध्ये स्वास्थ्य उपचार सेवा अन्तरगत ३ हजार ३८ जना रहेका छन् भने आयुर्वेद उपचार सेवाबाट ८ सय ७८ जनाले लिएका छन् । यसैगरि कृषि सेवा २ हजार ९ सय १५ जनालाई दिईएको छ भने पशुको उपचार शाखावाट १ हजार ९ सय २६ जनाले सेवा लिएको गाँउपालिकाले जनाएको छ ।
यसैगरि शिविरवाट ७५ जना अपाङ्गता तथा जेष्ठ नागरिकले सेवा लिएका छन् । पालिकाको विभिन्न योजना तथा प्राविधिक सम्वन्धी ४८ वटा उपभोक्ता समितीले विभिन्न सेवा लिएका छन् । व्यापार व्यवसाय तथा संस्था दर्ता यस अवधिमा ५९ वटा दर्ता गरिएको छ भने पन्जिकरण शाखा अन्तरगत ५७ जना सेवाग्राहीहरु लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।
त्यस्तै शिविरवाट प्रशासनिक कार्यमा ३ सय ५७ जना सेवाग्राहीले सेवा लिएको गाँउपालिकाले जनाएको छ । यसअघि पनि गाउँपालिकाले मृगौला परिक्षण, पाठेघरको परिक्षण, ३ दिने क्यान्सर परिक्षण, पहिलो चरणको एकिकृत घुम्ति शिविर सन्चालन गरिसकेको छ ।