देवघाट, चैत १२
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने हालै निर्माण सम्पन्न भएको त्रिशुली नदी माथिको मोटरेवल पुलको उद्घाटनको बारेमा औपचारिक छलफल सुरु भएको छ ।
करिब १० वर्षको निर्माण समय पश्चात गत फागुन दोश्रो साताबाट उक्त पुलमा सवारी सन्चालन गरिएको थियो । ८.५ मिटर चौडाइ र २२० मिटर लामो उक्त पुल निर्माण सुरु भएको करिब १० वर्षपछि निर्माण सम्पन्न भएको थियो ।
उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यातयात सन्चालन हुन सकेको थिएन । जसको कारण क्षेत्रका नागरिकहरु पनि पुल उपभोग गर्नबाट बन्चित भएका थिए । उक्त पुल २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो ।
यसैविच उक्त पुलको उद्घाटन कार्यक्रमबारे सोमबार देवघाट गाउँपालिकाका जनप्रतिनिधि, पुल निर्माण उपभोक्ता समिति र सडक डिभिजन कार्यालयका प्रतिनिधिविच औपचारिक छलफल सुरु भएको छ । पुलको अनुगमन सहित उक्त तिन वटै पक्षले पुलको उद्घाटन कार्यक्रम यथाशक्य छिटो गर्ने बारेमा छलफल गरेका छन् । पुलको उद्घाटनकोलागि राष्ट्रपती रामचन्द्र पौडेललाई आमन्त्रण गर्ने र राष्ट्रपतीलाई मिल्ने उपयुक्त समयमा यथाशक्य चाँडो पुल उद्घाटन गर्ने समझदारी भएको बताईएको छ ।
छलफलमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेल तथा डिभिजन सडक कार्यालय भरतपुरका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रहेको छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहेको छ ।