देवघाट, चैत १३
चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने हालै निर्माण सम्पन्न भएको त्रिशुली नदी माथिको मोटरेवल पुलको आगामी चैत १७ गते राष्ट्रपती रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । पुल उद्घाटनकोलागि राष्ट्रपती पौडेल देवघाट आउने भएका छन् ।
निर्माणको करिब १० वर्ष पश्चात गत फागुन दोश्रो साताबाट उक्त पुलमा सवारी सन्चालन गरिएको थियो । उक्त पुल ८.५ मिटर चौडाइ र २२० मिटर लामो रहेको छ । उक्त पुल २०७१ सालको कात्तिक २० गते निर्माण कम्पनीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले चैत १७ गते राष्ट्रपती रामचन्द्र पौडेलबाट उक्त पुलको उद्घाटन गर्ने निर्णय भएको बताए ।
अध्यक्ष पौडेलका अनुसार पुल उद्घाटनको कार्यक्रम तय भएसँगै राष्ट्रपती कार्यालयबाट आएको एक टोलीले मंगलबार पुलको निरिक्षण गरेको थियो । बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा प्रमुखहरुको बैठक रहेको छ ।
उक्त पुलको उद्घाटन कार्यक्रमबारे सोमबार देवघाट गाउँपालिकाका जनप्रतिनिधि, पुल निर्माण उपभोक्ता समिति र सडक डिभिजन कार्यालयका प्रतिनिधिहरुले स्थलगत अनुगमन र छलफल गरेका थिए । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले ठिमुराको पुल देवघाट गाउँपालिकाको विकासकोलागि महत्वपुर्ण रहेको हुँदा पुल उद्घाटन कार्यक्रमलाई भव्य बनाईने बताए ।
पुल निर्माणका लागि सुरुमा १९ करोड १० लाख ६६ हजारमा ठेक्का सम्झौता भएको भए पनि संशोधित लागत २१ करोड ६८ लाख ४८ हजार रहेको छ । नक्साङ्कन परिवर्तन, भौगोलिक हिसाबले कठिन ठाउँ, बनेर सक्न लाग्दा पुल भत्किनुलगायत कारण काममा ढिलाइ भएको डिभिजन प्रमुख पौडेलले बताए । उक्त पुलमा कंक्रिटका ४०÷४० मिटरका तीनवटा र स्टीलको एउटा ८० मिटरको स्पान रहेको छ ।