देवघाट, चैत ३०
देवघाटधाम जेसीजले नयाँ वर्षको पहिलो दिन बैशाख १ गते पवित्र धार्मिक तिर्थस्थल देवघाटधाम आउने भक्तजन तथा यात्रुहरुलाई निशुल्क खानेपानी वितरण गर्ने भएको छ । देवघाटधाम जेसीजको प्रोजेक्ट २०२४ कार्यक्रम अन्तरगत नव वर्ष २०८१ को पहिलो सिदन पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा तिर्थयात्रीहरुलाई निशुल्क खानेपानी वितरण गरिने देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।
देशका विभिन्न स्थानबाट भ्रमण तथा तीर्थ गर्न आउने तीर्थयात्रीहरूलाई मध्यनजर गर्दै निशुल्क पानी वितरण गरिने सो कार्यक्रममा देवघाटधाम जेसीज र लियो क्लब अफ देवघाट चौतारीका सदस्यहरु स्वयंसेवकको रूपमा परिचालन हुनेछन् । उक्त कार्यक्रमको मिडिया पार्टनरको रूपमा देवघाट अनलाइन, विहानी मिडिया र रेडियो देवघाट रहेका छन् ।
पर्यटन र उद्दमशीलतामा युवा नेतृत्व भन्ने प्रकरण वर्ष २०२४ लाई अगाडि बढाउने क्रममा देवघाटधाम जेसीजले सिङ्गो देवघाट गाउँपालिकालाई नै पर्यटनको क्षेत्रमा अगाडि बढाउने उद्देश्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको अध्यक्ष मल्लले बताए ।
सोहि क्रममा देवघाटधाम जेसीजले देवघाटधाम क्षेत्रको पर्यटन प्रवर्धनमा हाम्रो अभियान भन्ने नारा सहित देवघाटधाम क्षेत्र र देवघाट गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय स्थलहरूको प्रचारप्रसार गर्दै स्थानीय उद्दमशील युवाहरूद्वारा उत्पादित सामाग्रीहरूको प्रचार प्रसार तथा विक्रिवितरणमा समेत जोडदिने योजना रहेको देवघाटधाम जेसीजका अध्यक्ष मल्लले बताए ।
निशुल्क पानी वितरण कार्यक्रमका लागि कालिका माध्यमिक विद्यालय देवघाट–५, तनहुँबाट शैक्षिक सत्र २०५८ मा एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुबाट सहयोग प्राप्त भएको साथै कार्यक्रमलाई सफल बनाउन देवघाट गाउँपालिका र देवघाट क्षेत्रविकास समितिबाट सहयोग प्राप्त हुनेमा विश्वस्त रहेको देवघाटधाम जेसीजका कोषाध्यक्ष जेसी अर्जुन सुवेदीले बताए । साथै सोहि दिन बैशाख १ गते देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ छात्रवृत्ती वितरणका लागि सहयोग संकलन समेत गरिने सुवेदीले जानकारी दिए ।