देवघाट, बैशाख १
देवघाटधाम जेसीजले नयाँ वर्षको पहिलो दिन बैशाख १ गते शनिबार पवित्र धार्मिक तिर्थस्थल देवघाटधाम आउने भक्तजन तथा यात्रुहरुलाई निशुल्क खानेपानी वितरण गरेको छ । देवघाटधाम जेसीजको प्रोजेक्ट २०२४ कार्यक्रम अन्तरगत नव वर्ष २०८१ को पहिलो दिन पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा तिर्थयात्रीहरुलाई निशुल्क खानेपानी वितरण गरिएको देवघाटधाम जेसीजका अध्यक्ष रघु मल्लले जानकारी दिए ।
देशका विभिन्न स्थानबाट भ्रमण तथा तीर्थ गर्न आउने तीर्थयात्रीहरूलाई मध्यनजर गर्दै निशुल्क पानी वितरण गरिएको सो कार्यक्रममा देवघाटधाम जेसीज र लियो क्लब अफ देवघाट चौतारीका सदस्यहरु स्वयंसेवकको रूपमा परिचालन भएका थिए । उक्त कार्यक्रमको मिडिया पार्टनरको रूपमा देवघाट अनलाइन, विहानी मिडिया र रेडियो देवघाट रहेका थिए ।
सो कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का सांसद हरि ढकाल, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवन सिंह गुरुङ, वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर लगायतका नेताहरुको आतिथ्यतामा देवघाटधाम जेसीजले भक्तजन र तिर्थयात्रीहरुलाई निशुल्क खानेपानी वितरण गरेको थियो ।
पर्यटन र उद्दमशीलतामा युवा नेतृत्व भन्ने प्रकरण वर्ष २०२४ लाई अगाडि बढाउने क्रममा देवघाटधाम जेसीजले सिङ्गो देवघाट गाउँपालिकालाई नै पर्यटनको क्षेत्रमा अगाडि बढाउने उद्देश्य सहित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको अध्यक्ष मल्लले बताए ।
सोहि क्रममा देवघाटधाम जेसीजले देवघाटधाम क्षेत्रको पर्यटन प्रवर्धनमा हाम्रो अभियान भन्ने नारा सहित देवघाटधाम क्षेत्र र देवघाट गाउँपालिकामा रहेका विभिन्न पर्यटकिय स्थलहरूको प्रचारप्रसार गर्दै स्थानीय उद्दमशील युवाहरूद्वारा उत्पादित सामाग्रीहरूको प्रचार प्रसार तथा विक्रि वितरणमा समेत जोडदिने योजना रहेको देवघाटधाम जेसीजका अध्यक्ष मल्लले बताए ।
निशुल्क पानी वितरण कार्यक्रमका लागि कालिका माध्यमिक विद्यालय देवघाट–५, तनहुँबाट शैक्षिक सत्र २०५८ मा एसएलसी परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुबाट सहयोग गरेका थिए । साथै सोहि अवसरमा देवघाट गाउँपालिकाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूको सहयोगार्थ छात्रवृत्ती वितरण समेत गरिएको थियो ।