बन्दिपुर, बैशाख १
तनहुँको बन्दीपुर गाउँपालिकामा दोस्रो अध्यक्ष कप खेलकुद कार्यक्रम अन्तर्गत वडास्तरीय सेभेन ए साईड फुटबल तथा भलिबल प्रतियोगिता नव वर्षको अवसरमा शनिबारबाट सुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गरिन् ।
बन्दीपुर गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा उक्त प्रतियोगिता सन्चालन भएको हो । प्रतियोगितामा प्रत्येक वडाबाट दुई दुई टिम प्रत्येक विधामा समावेश गरिने शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख विष्णु खत्रीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई कर सहित रु ६० हजार रुपैयाँ पुरस्कार र द्वितीय हुनेलाई करसहित रु ३० हजार पुरस्कार प्रदान गरिनेछ । खेलमा प्रत्येक विधामा १०÷१० जना खेलाडी समावेश गर्नुपर्नेछ ।
भलिबल खेल बन्दीपुर गाउँपालिका वडा नम्बर २ स्थित भानु माध्यमिक विद्यालयको प्राङ्गण र फुटबलका बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित टुंडिखेलमा सञ्चालन हुने खेलकुद विकास समितिका अध्यक्ष रवि श्रेष्ठले बताए ।
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा राष्ट्रिय सभामा नेकपा एमाले दलको सचेतक समेत रेहकी सांसद न्यौपाने, बन्दिपुर गाउँपालिकाका उपाध्यक्ष पन्चमाया गुरुङ, जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष अनिल पाण्डे, बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।