चितवन, बैशाख ४
नेकपा एमाले चितवनको जिल्ला अधिवेशन आउँदो जेठ १० देखि १२ गतेसम्म हुने भएको छ । एमाले चितवनको चैत २९ गते बसेको जिल्ला कमिटी बैठकले पार्टीको ११ औँ जिल्ला अधिवेशन जेठको १०, ११ र १२ गते गर्ने निर्णय गरेको हो ।
एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार अधिवेशनले आगामी ३ वर्षको कार्यकालको लागि १ सय ४३ जना जिल्ला कमिटी चयन गर्नेछ ।
अघिल्लो वर्ष घटेको पार्टी सदस्य टोलटोलमा एमाले अभियानमार्फत एमालेले बढाएको छ । करिब १२ हजार संगठित सदस्यहरुबाट प्रतिनिधि चयन गरि ७ सय ५० जना हाराहारीमा प्रतिनिधिहरु जिल्ला अधिवेशनमा सहभागी हुने अध्यक्ष न्यौपानेले जानकारी दिए ।
उनका अनुसार जिल्ला अधिवेशन सम्पन्न गर्न ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन कमिटी साथै विषयगत समितिहरु पनि बनाइ सकिएको छ ।
उनका अनुसार मूल व्यवस्थापन कमिटीमा जिल्ला कमिटीका सबै, पालिका कमिटीका सबै तथा जनतहसहित ४ सय ९९ जना रहेका छन् मूल व्यवस्थापन कमिटीको संयोजक जिल्ला पार्टी अध्यक्ष न्यौपाने छन् । अध्यक्षकै संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति पनि बनाइएको छ ।
त्यसैगरि उपाध्यक्षको संयोजकत्वमा आर्थिक प्रतिवेदनको समिति, सचिवको संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन, उपसचिवको नेतृत्वमा प्रचारप्रचार लगायतका अधिवेशन सम्पन्न गर्ने विभागीय समितिहरु बनाएर अधिवेशनको तयारी थालिएको छ ।