दमौली, जेठ ३
तनहुँ हाइड्रो पावर लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिकामा कार्यालय स्थापना गरी तल्लो सेती जलविद्युत आयोजनाको कामलाई पनि अगाडि बढाएको छ । कम्पनीले १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजना निर्माण गरिरहेको हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
तल्लो सेतीको ३७५ मिटर लामो अनुसन्धानत्मक अडिट सुरुङ निर्माणका लागि आरके इन्जिनियरिङ एण्ड असोसिएटसँग खरिद सम्झौता गरेको छ । आयोजनाका लागि भौगोलिक अवस्था परीक्षण गर्न अनुसन्धानका लागि निर्माण गरिने उक्त सुरुङ पछि अन्य कामका लागि पनि प्रयोगमा आउने उनको भनाइ रहेको छ ।
तल्लो सेती जलविद्युत आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र एशियाली विकास बैंक (एडिबी) ले लगानीका लागि चासो देखाएका छन् । दुवै दाताहरू यसका लागि सकारात्मक रहेको प्रबन्ध सञ्चालक श्रेष्ठले बताए । उक्त निर्माण परियोजना सम्पन्न गर्नको लागि रु २५ अर्ब लाग्ने अनुमान गरिएको छ तनहुँ जलविद्युत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागिएको उनले बताएका छन् ।
उनका अनुसार उक्त आयोजना निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर निर्माण भइसकेको छ आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेश गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्य अन्तर्राष्ट्रिय विज्ञ समूहले २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ।
कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त पनि गरिसकेको छ साथै दातृ निकाय एडिबीबाट प्राप्त करिब ३.५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्थित इन्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो ।
आयोजना अन्तर्गत बन्दीपुर गाउँपालिका ६ र देवघाट गाउँपालिका ३ सराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ पानीको प्रवाहलाई देवघाट ३ र ४ हुँदै ६. ८ किलोमिटर लामो सुरुङ मार्फत सेती नदीको संगमबाट करिब ५०० मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाट स्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिका विद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने योजना बनाइएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताएका छन् । देवघाट गाउँपालिका ४ गाईघाटमा अर्धभूमिगत विद्युत गृहको निर्माण गरी विद्युत उत्पादन गरिनेछ ।
उत्पादित विद्युतलाई तनहु जलविद्युत आयोजनाले निर्माण गरेको १२० केभी दमौली नयाँ भरतपुर प्रसारण लाइनमा जोडी राष्ट्रिय विद्युत प्रणालीमा समाहित गरिनेछ । यसका लागि करिब २ किलोमिटर प्रसारण लाइनको निर्माण गर्नुपर्ने आयोजना कार्यालयले जनाएको छ । अर्धजलाशययुक्त तल्लो सेती आयोजनाको करिब १२ किलोमिटर लामो जलाशय माथिल्लो तटीय क्षेत्र अर्थात् बाँधस्थलबाट सुडे गाउँसम्म विस्तार हुनेछ । आयोजनाबाट वार्षिक रुपमा ५२ करोड युनिट विद्युत उत्पादन हुने जनाइएको छ ।