दमौली, जेठ ६
गणतन्त्र दिवसको अवसरमा तनहुँमा तिन दिन विविध कार्यक्रम गरि भब्य रुपमा मनाइने भएको छ । आगामी जेठ १४, १५ र १६ गते साँझ दिपावली समेत गरि गणतन्त्र दिवश मनाउन लागिएको हो ।
गणतन्त्र दिवस मनाउने सम्बन्धमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाहरुको बैठकले समन्वय प्रमुख वाग्लेको संयोजकत्वमा जिल्ला स्तरीय मूल समारोह समिति गठन गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले बताए ।
बैठकले गणतन्त्रको महत्वको बारेमा रेडियो परिसम्बाद कार्यक्रम गर्ने, १४ गते बिहान ७.३० बजे दमौली बजार र ब्यास गुफा क्षेत्र सरसफाइ गर्ने, उक्त दिन बिहान रक्तदान कार्यक्रम गर्ने र ‘गणतन्त्र सुदृढीकरणका लागि युवाको भुमिका’ शीर्षकमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।
१५ गतेका दिन बिहान अनशन चौतारीमा भेला भई प्रभातफेरी गर्ने, झण्डोत्तलन कार्यक्रम, समन्वय हलमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने र नागरिकका लागि निशुल्क स्वस्थ्य जाँच गरिने भएको समन्वय समितिका उप–प्रमुख बासु थापाले जानकारी दिए ।
त्यसैगरी जेठ १६ गते बिहान आदिकवि भानुभक्त क्याम्पसमा वृक्षारोपण, दमौली अस्पतालका बिरामी र कारागारमा रहेका कैदीबन्दीलाई फलफूल वितरण गर्ने र दिउँसो महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फूटबल प्रतियोगिताको आयोजना गरिएको छ ।
जिल्लामा रहेका अन्य स्थानीय तहले पनि विविध कार्यक्रम गरि मनाउनका लागि पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।