आगलागीबाट भएको क्षतीको सांसद भण्डारीद्वारा नीरिक्षण

Devghat Online

शेयर गरौ

दमौली, जेठ १०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले दमौलीको मेनचोक फलफूल लाइनमा गत सोमबार विहान भएको आगलागीबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेका छन् । बिहीबार निरीक्षणको क्रममा सांसद भण्डारीले क्षति तथा विस्थापित परिवारको अवस्था लगायतका विषयमा जानकारी लिएका थिए ।

आगलागी पीडितलाई भेटी सांसद भण्डारीले आफू पीडितको साथ रहेको र आगोले पसल जलेपनि मन नजलाउन आग्रह गरे । भण्डारीले भने ‘तपाईहरुलाई परेको पिरमकालाई समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता गर्दछु ।’ तत्काल राहत, उद्धार तथा व्यवस्थापनमा कुनै कसर नछाड्न सांसद भण्डारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र व्यास नगरपालिका लगायत जिल्ला स्थित सरोकारवाला निकायहरुसँग अनुरोध गरे ।

नयाँ सटरहरु निर्माण गरेर सबै व्यवसायीलाई सोही स्थानमा स्थापित गराउनु पर्ने भण्डारीले बताए । भण्डारीले आगामी दिनमा यस्ता आगलागी हुन नदिने, लागेमा छिटो निभाउन सक्ने उपकरण तथा जनशक्तिको व्यवस्थापनमा ध्यान दिनु पर्ने बताए ।

सो अवसरमा गण्डकी प्रदेश सभा सदस्य अशोककुमार श्रेष्ठले गण्डकी प्रदेश सरकारको तर्फबाट दिने राहतको लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्ला विपद् व्यवस्थापन समितिले संघ तथा प्रदेश सरकारलाई राहत रकम उपलब्ध गराउन सिफारिस गर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अपीलराज बोहोराले क्षतिको विवरण संकलन गर्ने काम पुरा भएको जानकारी दिँदै पुर्नमूल्याङ्कनको काम भईरहेकोले जति क्षति भएको छ त्यति मात्रै विवरण दिन आग्रह गरे । नोक्सान भएको भन्दा बढी विवरण दिँदा राहतको काम प्रभावित हुने एसपी बोहोराले बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा.कृष्णप्रसाद गौतमले आगलागीबाट विस्थापित भएका व्यवसायीलाई परिवार पाल्न, बैंकको किस्ता तिर्न समस्या भएकोले सोही ठाउँमा व्यापार गर्न पाउनु पर्ने माग भएकोले सो पुरा गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले आगलागी पीडितलाई जतिसक्दो छिटो राहत दिनुपर्ने बताए । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शुकनारायण मल्ल, पीडित विद्युतकेशरी न्यौपाने लगायतले व्यवसायीले व्यवसायबाट विस्थापित भए भने पीडामाथि थप पीडा हुने भएकोले त्यसमा सबै गंभिर हुनु पर्ने बताए ।

आगलागी पीडित संघर्ष समितिका संयोजक केहरसिंह आले बादलले आगलागी भएको स्थलको तत्काल सरसफाई गरि पुर्ननिर्माणका साथै पसल सूचारु गर्न माग गरे । अर्का पीडित प्रतापसिंह अधिकारीले सांसदहरु चासो राखेर पीडा बुझ्नको लागि आउनु भएकोले पीडितको माग पुरा हुने विश्वास लागेको बताए ।

सो अवसरमा व्यास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा क्षति मूल्याङ्कन समितिका संयोजक अनुप रानाले २४ वटा सटरहरु जलेर ध्वस्त हुँदा ६ करोड ९९ लाख ५१ हजार छ सय ७० रुपियाँ क्षति भएको विवरण संकलन भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता