भरतपुर, जेठ १२
नेकपा एमाले चितवनको ११ औं जिल्ला अधिवेशन शनिबारबाट सुरु भएको छ । अधिवेशनको लंकु स्थित ग्यालेक्सी गार्डेन रिर्साेटमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे ।
अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नै जाने बताए । वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको भन्दै उनले तर यो समीकरणलाई तोड्न नदिइने बताए । पौडेलले कांग्रेसको नसिबमा २०८४ सालसम्मै प्रतिपक्षमा बस्न लेखिएको बताए । ‘कांग्रेस सधै सत्तामा रहँदा निर्वाचनमा गएको छ । एमाले सधैं प्रतिपक्षमा रहँदा निर्वाचनमा गएको छ । यसपालि कांग्रेसको नसिबमा ०८४ साल सम्मै प्रतिपक्षमा बस्न लेखिएको छ,’ उनले भने, ‘यो गठबन्धन चुनावसम्मै जान्छ ।’
‘गठबन्धन सरकारसँग डराएर कांग्रेस छटपटिएको र बेचैनी बढेको छ । संसदमा अलोकतन्त्रको हद देखायो । कुनै मर्यदा राखेन, सत्ता पक्षको ठाउँमा आएक हुलहुज्जत ग¥यो,’ उनले भने, ‘कांग्रेसलाई कमजोर नपारी देशमा लोकतन्त्र बलियो हुँदैन । आगामी चुनावमा जसरी पनि परास्त पार्छौं ।’
पौडेलले सहकारी संस्थाको ठगीको बारेमा छानबिन समिति बनाउने सहमतीबाट पनि कांग्रेस नै पछाडि हटिरहेको दाबी समेत गरे । उनले कांग्रेसले संसदमा गैरप्रजातान्त्रिक र असंसदीय चरित्र देखाएको टिप्पणी गरे । कांग्रेस अहिलेको सत्ता गठवन्धनबाट अत्तालिएको भन्दै पौडेलले २०८४ को निर्वाचन अगाडि कांग्रेस सत्तामा फर्किने कुनै सम्भावना नरहेको बताए ।
एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेसको सदन अवरोधबाट संवैधानिक वाध्यता भएका विषयहरु समेत समस्यामा परेको बताए । उनले आगामी जेठ १५ गते सरकारले बजेट ल्याउनुपर्ने बाध्यता रहेको भन्दै कांग्रेसले अवरोध गरे नारावाजीका बीच वा अध्यादेशबाट बजेट आउने बताए ।
जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै जेठ १४ गते सकिने छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित १२० सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । जिल्ला कमिटीमा कम्तीमा ३३ प्रतिशत महिला र १५ प्रतिशत युवा अनिवार्य गरिएको छ । त्यसमा १० प्रतिशत पछि मनोनित गर्न सकिने व्यवस्था छ ।
अधिवेशनमा जिल्लाका सात पालिका, विभिन्न जनवर्गीय संगठन, सम्पर्क मञ्च लगायत गरी ७३२ जना र २९ मनोनित गरी ७६१ जना प्रतिनिधि सहभागी छन् । अध्यक्षका लागि वर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, उपाध्यक्ष कमलराज पाठक लगायतले आकांक्षा राखेका छन् ।