देवघाट, जेठ ३०
राष्ट्रपती महिला उत्थान कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिकाका महिलालाई बाख्रा पालन तालिम दिईएको छ । उक्त कार्यक्रम अन्तर्गत छनौट भएका २५ जना महिलाहरुलाई चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था देवघाट–५ द्वारा पाँच दिने बाख्रा पालन तालिम दिईएको हो । उक्त तालिम बुधबारबाट सुरु भएको छ ।
देवघाट गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालित उक्त तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बाख्रा पालन तालिमको माध्यमबाट महिलाहरु आत्मनिर्भर र स्वावलम्बी बन्नुपर्ने बताए ।
चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष तारादेवी पन्तको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्ण बहादुर कुँवर, वडा सदस्य बुद्धिबहादुर पाण्डे, गाउँपालिकाका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो कार्यक्रमको सन्चालन सहकारीकी व्यवस्थापक संगिता ओझाले र स्वागत सहकारीकी सचिव एवं कार्यक्रम फोकल पर्सन राधादेवी खनालले गरेकी थिइन् । तालिमका सहभागीहरुलाई देवघाट गाउँपालिकाका पशु चिकित्सक डा.सम्राट अधिकारी र देवघाट–५ पशु प्राविधिक अर्जुन सापकोटाले प्रशिक्षण दिने छन् ।
समाजमा विद्यमान सबै प्रकारका विभेद, कुरीति र शोषणको अन्त्यका लागि सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्दै उद्यमशीलता विकासको माध्यमबाट महिलाहरूको आर्थिक सशक्तीकरण र दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्यले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गरिएको हो ।
उक्त कार्यक्रम अन्तर्गत महिलाहरूको हक अधिकार सुनिश्चित गर्दै राष्ट्र निर्माणको प्रत्येक तहमा समान सहभागिताको व्यवस्था गर्न, सबै प्रकारका हिंसा, शोषण र विभेदको अन्त्य गरी महिला सशक्तीकरण कार्यक्रमलाई अघि बढाउन जोड दिइनेछ ।
राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रमको माध्यमबाट महिलाको जीवनस्तर उकास्ने, स्थानीय स्रोत साधन उपयोगद्वारा महिलाहरूको आर्थिक सशक्तीकरण गर्ने र महिला सशक्तीकरणका कार्यक्रम सन्चालन भईरहेको छ । सोही अनुसार देवघाट–५ मा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा सो बाख्रा पालन सम्बन्धि तालिम दिईएको सहकारीकी व्यवस्थापक ओझाले जानकारी दिइन् ।