दमौली, असार १०
बुद्धसिंह मार्गमा पर्ने घुमाउनेमा निर्माणाधिन मोटरेवल पुल निर्माणमा दवाव दिन स्थानीय स्तरमा संघर्ष समिति गठन गरिएको छ । करिब १० बर्ष अगाडिबाट निर्माण शुरु भएको उक्त पुल निर्माणमा चरम ढिला सुस्ति भएको हुुँदा यथाशिघ्र पुल निर्माण सम्पन्न गर्न दवाव दिने उद्देश्यले सोमबार संघर्ष समिति गठन गरिएको हो ।



बन्दिपुर, देबघाट र आबुँखैरेनीका उपभोक्ताहरुको सोमबार भएको बृहत भेलाले सिद्धान्त गर्जामगरको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा संघर्ष समिति गठन गरिएको छ । देबघाट गाउँपालिकाको वडा नम्बर २, ३ र ४, बन्दिपुर गाउँपालिकाको वडा नम्बर ६, आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर ५ र ६ र ब्यास नगरपालिकाको वडा नम्बर १३र १४ का नागरिकहरु दैनिक रूपमा हिडडुल गर्ने उक्त पुल सम्पन्न नहुँदा हजारौं सर्वसाधरणले दैनिक दुःख, कष्ट र सास्ती भोग्दै आएका छन् ।
स्थानीय उपभोक्ताहरुको भेलाले पुल निर्माणको कामले कामले किन गति लिन सकिएन र समयमै निर्माण नहुनुमा मुख्य समस्या ठेकदार हो वा नेताको हो पहिचान गरि थप आन्दोलन, अध्ययन र खबरदारी गर्ने र कामले गति नलिए हजारौं मानिस सहभागी गराई आन्दोलन र धर्ना गर्ने निश्कर्ष निकालिएको संयोजक गर्जामगरले बताए ।
उक्त संघर्ष समितिमा संयोजक सिद्धान्त गर्जामगर, सदस्य सचिवमा कमल गुरुङ तथा सदस्यहरुमा लिल बहादुर गुरुङ, सुर्य कुमार गुरुङ, रुपेश गुरुङ, राम गुरुङ, भक्त बहादुर थापा, सुरज थापा, लिल गुरुङ, धन बहादुर गुरुङ, नबराज गुरुङ, सुजन गुरुङ, पदम गुरुङ, राम गुरुङ र पुर्ण बहादुर गुरुङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा भिम बहादुर राना, चन्द्र बहादुर गुरुङ, देउ बहादुर थापा र हर्कमान गुरुङ रहेका छन् ।

मृत सञ्जीवनी निर्माण कम्पनी हेटौंडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि अन्तिम पटक २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा ४५ प्रतिशत मात्र काम भएको छ ।
त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिले सम्म त्रिशुलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन्, अरु काम हुनै सकेको छैन ।
उक्त पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत ९ करोड ५६ लाख रुपैयाँ छ । दोहोरो लेनको पुलमा ७.५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडक खण्डसम्म ल्याउन सकिन्छ ।












