दमौली, असार १७
व्यास–५ ढोडेनी स्थित माँ अंम्बे अलौकिक कृषि फर्ममा लगाइएको ड्रागन फ्रुट बजारमा आएको छ । उक्त फार्ममा उत्पादित ड्रागन फ्रुट २०८१ सालको दोस्रो छिमल आइतबारदेखि विक्रि सुरु गरेको फार्मकी सन्चालक कल्पना गौलीले बताइन् । उनले भनिन ‘माँ अम्बे’ को स्टिकर भएको सिउँडीफल (ड्रागन फ्रुट) मात्रै हाम्रो उत्पादन हो ।’
विषादीरहित ड्रागन फ्रुट आफ्नो भनि ब्राण्ड बनाउन अबदेखि ’माँ अम्बे’ को स्टिकर फललाई टासेर विक्रि गर्न थालिएको गौलीले जानकारी दिईन । उनले थपिन ‘अबदेखि स्टिकर हेरेर मात्रै किन्नुहोला ।’ साथै उक्त ड्रागन फ्रुट व्यास–२ स्थित पर्यटन तथा उद्योग कार्यालय तनहुँ सँगै रहेको व्यास कोशेली घरमा समेत किन्न सकिने गौलीले जानकारी दिईन । भारतको हैदरावादबाट बिरुवा ल्याएको सि प्रजातीको सिउँडी फलको व्यवसायीक खेति गर्दै आएको सञ्चालिका गौलीले बताईन् ।
पहिलादेखि नै बजार र व्यवसायलाई बुझेकाले पनि विक्री गर्न कठिनाइ नभएको उनले बताइन् । थोरै समयमा फल दिने र बजार मुल्य पनि राम्रै भएकाले यसको व्यवसायिक खेतीमा आफु आकर्षित भएको उनको भनाइ छ । स्थानीय बजार राम्रो ओगट्न सकोस् भन्ने उद्देश्यले फललाई ग्रेडिङ गरेर ५ देखी ६ सय रुपैयाँ केजी विक्री गरेको उनले बता्इन् । ठुलो, मझौला र साना दानामा बर्गीकरण गरि विक्री गरेको उनले जानकारी दिइन् ।
संसारमा पाइने १ सय ५३ प्रजातीका ड्रागन फ्रुट्स मध्ये नेपालमा मात्र ५२ प्रजाती पाइने उनले बताइन् । उनले उत्पादन गरेको ड्रागन फ्रुट्स भने सिभेराइटी सिमरेड प्रजातीको हो । उन्नत जातको ड्रागन फ्रुट्स भित्राउने नेपालमा आफ्नो फर्म तेस्रो भएको उनले दावि समेत गरिन् । उचित स्याहार पाएमा यसले एक पटक रोपेपछी १५ देखि २० वर्ष सम्म उत्पादन दिन्छ । सुरुमा कौसी खेतीबाट कृषिमा लागेकी उनको लक्ष्य पूर्ण जैविक खेती हो । उनले कौसी खेती गर्दा पनि कहिल्यै रासायनिक मल प्रयोग गरिनन् । कौसीबाट उत्पादित सिजनका तरकारीहरु राम्रो विक्री हुन थालेपछी उनको जैविक खेती तर्फ आकर्षण बढेको हो ।
लामो समय शिक्षण व्यवसाय र बुटिक व्यवसायमा संलग्न रहेकी उनले प्रकृतिसँगको प्रेम जस्तो आनन्द अन्य व्यवसायमा नभेटेको बताइन् । आध्यात्मिक चेतना पनि राख्ने उनी प्रकृतिमै रमेर आफु पनि बाच्ने र अरुलाई पनि काम दिने गर्न पाउदा खुशी लागेको बताउछिन् । उनले धेरै काम हुदा १८ जना सम्मलाई काम दिएको सुनाइन् । ड्रागन खेतीसँगै मौसमी तरकारी खेती पनि गरेकी उनले सिजनमा फलाएका तरकारीलाई बेसिजनमा पनि प्रयोग गर्न मिल्ने गरि सुकाएर बेच्ने गर्छिन् । बेसिजनमा फलाइने तरकारीमा अत्याधिक विषादी प्रयोग गरिने भएकाले सिजनमा फल्ने तरकारी सुकाएर र बफाएर बेच्ने गरेको उनले बताइन् । सिस्नो, गाभा, मस्यौरा, करेला, गुन्द्रक लगायतका सुख्खा तरकारी उनले विक्री गर्छिन् । गिट्ठा, भ्याकुर, सिस्नोको पनि व्यवसायिक खेती गरेकी उनले साढे ५ रोपनीमा त सिस्नोको मात्र खेती गरेकी छन् ।
आगामी दिनमा कुरिलो, सिताके च्याउ, सितल चिनी, एभोकाडो, कोइरालो, काली निहुरो, सिपलीगान खेतीलाई विशेष प्रथामिता दिने योजना रहेको उनले बताइन् । दलन र मसलाजन्य उत्पादन पनि गर्दै आएकी उनको अझै विस्तार गर्ने योजना रहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँकी अध्यक्ष समेत रहेकी गौलीको अवधारणा अनुसार अहिले दमौलीमा व्यास कोसेली घर पनि सञ्चालनमा आएको छ । जसको उद्देश्य तनहुँको प्रत्येक पालिकामा उत्पादितसबै खाले स्थानीय उत्पादनको बजारीकरण हो ।
रासायनिक मल तथा कीटनाशक औषधीले भ्रम पैदा गरिरहेको अहिलेको सयममा जैविक खेती गरेको विरलै देखिन्छ । रासायनिक मल प्रयोग नगर्दा उत्पादन घट्छ भन्ने पनि धेरै कृषकलाई लाग्न सक्छ । बजारमा विषादी प्रयोग नगरिएका फलफुल तथा तरकारी दुर्लभ भइसक्यो । रासायनिक पदार्थको अत्याधिक प्रयोगले मानव स्वास्थ्य र वातावरणमा समेत असर गरिरहेको अहिलेको समयमा माँ अंम्बे अलौकिक कृषि फर्मकी सञ्चालक गौली जैविक खेती प्रवद्र्धनमा सक्रिय छिन् ।
आफ्नो फर्मबाट उत्पादित तरकारी तथा फलफुलमा रासायनिक कीटनाशक औषधीको सट्टा आफैँले तयार गरेको औषधी प्रयोग गर्छिन् । जैविक तरकारी तथा फलफुलका रूपमा प्रमाणिकरण सहित स्टिकर टाँसेर बजारीकरण गर्ने धोको रहेकाले त्यसकै लागि दिनरात लागि रहेको उनको भनाइ छ । बजारमा पाइने रासायनिक मलको प्रयोगले माटोको उत्पादन क्षमतामा ह्रास ल्याउने भएकाले जैविक खेती प्रद्धतीलाई अवलम्वन गरेको उनले बताइन् ।
सम्पुर्ण किटनाशक औषधी तथा मलहरु जैविक प्रक्रियाबाट फर्ममा नै उत्पादन गर्दै आएको उनी बताउछिन् । ओरिजिनल वेस्ट डिकम्पोजर नामक तत्वको प्रयोग गरि भेलि, गौमुत्र, तमाखु खाने काँचो पातका साथै आफ्नै बारीमा उपलब्ध अन्य झारपातहरुको प्रयोग गरि जैविक किटनाशक औषधी तयार गर्ने गरेको उनले बताइन् । आफुले खेती गर्दा जैविक मल मात्र प्रयोग गर्दा पनि बिगतमा त्यो माटोमा प्रयोग भएको रासायनिक मलको असर अझै बाँकी रहेको उनी बताउछिन् । ‘अहिले म माटो सुधारकै क्रममा छु अझै कम्तीमा ४–५ वर्ष लाग्ला, माटो सुधारक तत्व प्रयोग गरेको छु’ उनले भनिन् ।
नेपालमा कृषिको राम्रो सम्भावना हुदाहुदै पनि कृषि गर्न सहज भने नभएको उनी बताउछिन् । तीनै तहका सरकारले कृषिलाई प्राथमिकता दिने भन्ने गरेको भएपनि कृषक र कृषिलाई सरकारले प्रोत्साहन भने गर्न नसकेको उनको गुनासो छ । ‘आफुसँग लगानी गर्ने क्षमता नभएका कृषकलाई व्यवसायिक कृषि गर्न कठिन छ, राज्यले कागज र भाषणमा सहयोगको प्रतिवद्धता गरे बमोजिम यथार्थमा अनुदान र सहयोग गरेका छैनन, उनले भनिन् राज्यले वास्तविक कृषकलाई आर्थिक, प्राविधिक र बजारीकरणमा पनि खुलेर सहयोग गर्छ भने कृषिमा राम्रो भविष्य छ ।’ लोकवाणी दैनिकबाट