देवघाट, असार २६
देवघाट गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८१।०८२ को ४७ करोड ७८ लाख ८८ हजार ५ सयको बजेट पारित भएको छ । मंगलबारको चौधौं गाउँसभाको बैठकले यस अघि गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ्गद्वारा प्रस्तुत बजेटलाई संशोधन सहित पारित गरेको हो ।
देवघाटले आय तर्फ संघीय समानीकरण अनुदान ७ करोड ८३ लाख, संघीय सरकार राजश्व बाडफाँड ८ करोड २४ लाख, आन्तरिक राजश्व संकलन अनुमान १ करोड २५ लाख, प्रदेश सरकार समानीकरण अनुदान ९५ लाख ३७ हजार, प्रदेश सरकार राजश्व बाडफाँड ५४ लाख २३ लाख, संघीय सरकार ससर्त अनुदान चालु तर्फ २१ करोड २७ लाख २८ हजार, संघीय सरकार पुँजीगत अनुदान ४५ लाख, प्रदेश समपुरक अनुदान १ करोड, प्रदेश समपुरक अनुदान ६० लाख, गाउँपालिकाको आन्तरिक अम्दानी ४ करोड २५ लाख अनुमान गरेको छ ।
यसैगरि व्यय तर्फ प्रशासन तर्फ १० करोड ९८ लाख ३५ हजार, शिक्षामा ८७ लाख ५० हजार, युवा तथा खेलकुँदमा ३२ लाख, खानेपानी, सरसफाई तथा फोहोर मैला व्यवस्थापनमा ३३ लाख ५० हजार, स्वास्थ्यमा ५९ लाख ७६ हजार, कृषि विकास कार्यक्रममा २४ लाख ५० हजार, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रममा १४ लाख, सहकारीमा ३ लाख, महिला तथा बालबालिका तथा जेष्ठ नागरिकमा १५ लाख, संस्कृती तथा पर्यटन संरक्षण तर्फ २० लाख २० हजार विनियोजन गरेको छ ।
यसैगरि लक्षित वर्ग कार्यक्रमको लागि २० लाख, पुर्वाधार विकास ४ करोड ७७ लाख ५० हजार, उद्योग तथा बाणिज्य तथा पर्यटनमा १ लाख ९० हजार, प्रधानमन्त्री रोजगार र्काक्रममा ५२ लाख, सुरक्षित आप्रवासन सामी कार्यक्रममा २ लाख ३० हजार, वन वातावरण तथा विपद व्यवस्थापनकोलागि ११ लाख ६० हजार, भुमी व्यवस्थापन १३ लाख ५० हजार, संघ संस्था तर्फ १५ लाख र ससर्त बाहेक (सामाजिक सुरक्षा भत्ता समेत) २२ करोड ५९ लाख ६१ हजार खर्च हुने अनुमान गरिएको छ ।
देवघाटले उक्त बजेट कार्यान्वयन गर्न आगामी आर्थिक वर्षमा सुन्दर, समुन्नत र समृद्ध गाउँपालिका निर्माण गर्ने संकल्प लिएको छ । उक्त संकल्प पुरा गर्न दिगो विकासको राष्ट्रिय लक्ष्यहरुलाई स्थानीयकरण गर्दै नागरिकको आवश्यकता पुरा गर्ने उद्देश्यका साथ धार्मिक पर्यटनको प्रबद्र्धन, गुणस्तरीय पुर्वाधार निर्माण, कृषिमा आत्मनिर्भर बन्दै आयआर्जनमा बृद्धि र स्वरोजगार कार्यक्रममा बृद्धी तथा स्थानीय श्रोतको पहिचान र परिचालन गरि समावेशी र दिगो आर्थिक विकास मार्फत सार्वजानिक, समुदाय र नीजि क्षेत्रको साझेदारी गरिने मुख्य लक्ष्य लिईएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
देवघाट गाउँपालिकाकालाई उत्कृष्ट गन्तव्यको रुपमा स्थापित गर्ने, भुमिहिन, अव्यवस्थित बसोबासीहरुको बैज्ञानिक व्यवस्थापन गर्ने, सफा र सुन्दर देवघाट, धार्मिक कोणबाट पर्यटकीय क्षेत्रहरुको विकास लगायत देवघाट गाउँपालिकाको पहिचान कायम राख्ने र योजनाबद्ध शहरीकरण र वस्ती विकाससँग सम्बन्धित नीति तथा कार्यक्रमलाई मुख्य प्राथमिकता लिईएको अध्यक्ष थापाले बताए ।
गाउँपालिकाको विकास तथा समृद्धिको लक्ष्य प्राप्तिकालागि गाउँपालिकाले पहिचान गरेको अवसरहरुमा संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भई २२ वटा एकल अधिकार सहित विविध साझा अधिकार किटान हुनु, आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा तथा योजना तर्जुमाको अभ्यास हुनु, विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु, गाउँपालिका भित्र भौगोलिक तथा सांस्कृतिक, धार्मिक विविधताका कारण पर्यटनको अधिक सम्भावना रहनु तथा सबै वडाका सबै टोल सडक पूर्वाधारको पहुँच हुनु लाई ठम्याएको छ ।
त्यसैगरि गाउँपालिकाका सबै भूगोलहरूमा कृषिजन्य उत्पादनको प्रचुर सम्भावना रहनु, घरहरुको निर्माणमा भवनसंहिता पालना हुने क्रम बढ्नु तथा नक्सापास गर्न नागरिकको आकर्षण बढ्नु, कृषि तथा पशुजन्य क्षेत्रलाई पकेट क्षेत्र तथा जोन क्षेत्रको रुपमा विकास तथा विस्तार गर्ने उच्च सम्भावना हुनु, धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय पर्यटनको लागि उच्च सम्भावना रहनु तथा सबै वस्तिहरूमा ग्रामिण विद्युतीकरण हुदै जानुलाई गाउँपालिकाको अवसरको रुपमा लिईएको छ ।
त्यस्तै गाउँपालिकाको चुनौतीहरु रोजगार उन्मुख सीपमूलक, व्यावसायिक उद्यम विकास गर्नु, आत्मनिर्भर कृषि विकास सम्बन्धी योजना ल्याउनु, वैदेशिक रोजगारबाट फर्केका सीपयुक्त जनशक्तिको सीप, अनुभव तथा पूँजीलाई उद्यम विकासमा उपयोग गर्नु, निर्माण भएको पूर्वाधारको मर्मत संभार पद्धतिको विकास गर्नु तथा भिरालो ठाउँ, बाढी पहिरो तथा डुवान लगायतका प्रकोपको उच्च जोखिम भएका बस्तीमा भवन निर्माण कार्यलाई रोक्नुलाई लिईएको छ ।
त्यसैगरि सञ्चार सेवा प्रदायक संस्थाहरुबाट प्रभावकारी सेवा प्राप्ति र व्यवस्थित गर्नु, प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापन गरी अवलम्बन गरी राजश्व संकलनमा अभिबृद्धि गर्नु, विभिन्न महामारीहरूसंग समयमै परिचित हुन सचेत हुनु, जीवन उपयोगी व्यवसायिक शिक्षा प्रदान गर्नु तथा अनुशासित र मर्यादित समाजको निर्माण गर्ने कार्यलाई मुख्य चुनौती ठानिएको छ ।
आगामी आर्थिक वर्षमा जन–अपेक्षा तथा आवश्यकता, भौगोलिक बनावट, योजनाको प्राथमिकता, गाउँपालिकाको श्रोत साधन, आर्थिक, सामाजिक, पर्यटकीय सम्भावना लगायतका दृष्टिकोणले महत्वपूर्ण मानिएका योजनाहरुलाई गाउँपालिकाका गौरवका योजनाको रुपमा लिइएको छ । जसलाई उपलब्ध श्रोत साधनको आधारमा बहुवर्षिय योजनाको रुपमा क्रमशः श्रोत साधनको व्यवस्था गरी सम्पन्न गरिने जनाईएको छ ।