देवघाट, असार २७
देवघाट गाउँपालिका आफ्नै भवनमा सर्ने प्रक्रिया सुरु भएको छ । वडा नम्बर ५ को क्युँदीमा निर्माणा सम्पन्न भएको गाउँपालिकाको प्रशासकीय भवनमा विहिबार सुभ साईत पारी रुद्राभिषेक र अग्निस्थापना गरिएको छ । सुभ साईतमा रुद्राभिषेक सम्पन्न गरेपछि गाउँपालिकाको सेवा अब क्रमशः आफ्नै भवनबाट सन्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले बताए ।



नवनिर्मित प्रमुख प्रशासकीय भवनबाट पहिलो चरणमा साउन पहिलो साताबाट केही शाखाहरु सन्चालन गर्ने तयारी गरिएको छ । त्यसपछि क्रमशः सबै शाखाहरु सन्चालन गरिने र साउन महिना भित्रै अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा लेखा लगायतका सबै शाखाहरु नयाँ भवनमा सर्ने तयारी भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७६ असारबाट भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि निर्माण सम्झौता गरिएको उक्त भवनको प्रत्येक पटक ६ महिनाको म्याद थप्दै यही माघ मसान्त अन्तिम मिति तोकिएको थियो । निर्माण कम्पनीले अन्तिम पटक तोकिएको म्याद भित्रै निर्माण सम्पन्न गरेपनि भुक्तानी लगायतको समस्याको कारण भवनको बुझ बुझारथ गर्न ढिलाई गरेको थियो ।
गाउँपालिकाको पटक पटकको ताकेता पछि केही दिन अघि मात्र निर्माण कम्पनीले भवन गाउँपालिकालाई हस्तान्तरण गरेको थियो ।
कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत काठमाडौं स्थित रविना अविसा जेभीसँग ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।

बहुवर्षीय योजनाको सो भवन निर्माणकोलालगि गन्डकी प्रदेश सरकारले तिन वर्षमा ५०÷५० लाखको दरले डेढ लाख उपलब्ध गराएको थियो भने बाँकी रकम गाउँपालिका आफैले व्यवस्थापन गरेको गाउँपालिकाका इन्जिनियर तिर्थ ढुङ्गानाले जानकारी दिए । संघीय सरकारले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको भएपनि हालसम्म कुनै रकम प्राप्त नभएको ढुङ्गानाले बताए ।

सुरुमा दुई वर्षमा सक्ने गरि उक्त प्रशासकीय भवन निर्माण कार्य सुरु गरिएपनि विचमा कोभिड १९ तथा बजेटको समेत अभाव भएपछि निर्माण अवधि लम्बिएको थियो । तिन तले सो भवनको क्षेत्रफल ५ हजार २ सय बर्गफुट रहेको छ । सो भवन भित्र २ सय जना अट्ने सभाहल समेत रहेको छ । नयाँ भवनमा लिफ्ट जडित छ । आफ्नै भवन नहुँदा गाउँपालिका धर्मशालाको भवनमा भाडामा सञ्चालन हुँदै आएको थियो ।












