देवघाट, असार ३१
देवघाट गाउँपालिकाले प्रशासकीय भवन बरबुझारथ गर्न निर्माण कम्पनी रविना÷अविना जेभी काठमाडौंलाई दोश्रो पटक अनुरोध गरेको छ । देवघाट गाउँपालिकाले उक्त ज्वाइन्ट भेन्चर निर्माण कम्पनीलाई सोमबार दोश्रो पटक पत्र पठाउँदै तिन दिन भित्र भवन बरबुझारथ गर्न अनुरोध गरेको हो ।
यदि उक्त समयसिमामा समेत भवन बरबुझारथ नगरेमा फर्मलाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाईने गाउँपालिकाले जनाएको छ । देवघाट गाउँपालिका प्रशासनिक भवन निर्माण योजनाको लागि उक्त फर्म र गाउँपालिका कार्यालय बीच २०७७ असार २२ गते भएको सम्झौता बमोजिम २०७९ असार १८ गते सम्पन्न गर्नुपर्नेमा उक्त अवधिमा विविध कारणले निर्माण कार्य सम्पन्न हुन नसकी पटक पटक म्याद थप हुँदै पछिल्लो पटक थप भएको म्याद समेत २०८० माघ मसान्तमा सकिएको गाउँपालिकाले जनाएको छ ।
२०८० माघ १५ मा त्यस फर्मलाई दशौं रनिङ विल भुक्तानी हुँदा केहि कार्य बाँकी रहेकोमा उक्त कार्य सम्पन्न गरी माघ मसान्तसम्ममा भवन बरबुझारथ गर्नुपर्नेमा उक्त रनिङ विल भुक्तानी भएपश्चात देखि नै भवनको मूल ढोकामा ताला लगाई. हालसम्म बाँकी निर्माण कार्य अगाडि नबढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्यले बताए ।
यसअघि बैशाख १ गते भित्र भवन बुझबुझारथ गर्न २०८० चैत २६ गते गाउँपालिकाले उक्त निर्माण कम्पनीलाई पत्र पठाएकोमा सो फर्मले फर्मले २०८१ आषाढ मसान्त सम्ममा सम्पूर्ण कार्य सम्पन्न गरी भवन बरबुझारथ गर्ने भनी पटक पटक प्रतिबद्धता गरेकोमा असार अन्तिम दिन आईपुग्दा सम्म पनि बाँकी केही कार्य सम्पन्न नभएको अनुगमनका क्रममा देखिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले हाल भाडामा लिएर सन्चालन गरेको भवन साउन १ गतेदेखी छोडी सम्पूर्ण सेवा नवनिर्मित भवनबाट सञ्चालन गर्ने तयारी गरिएकोमा सो कार्य हुन नसकेको हुँदा पत्रको मितिले ३ तीन दिन भित्र बाँकी सम्पूर्ण कार्यहरु सम्पन्न गरी भवन बरबुझारथ गर्नुहुन पुनः ताकेता गरिएको गाउँपालिकाले जनाएको छ ।
यदि उक्त समयसीमा भित्र पनि भवन बरबुझारथ नगरेमा त्यस फर्मलाई कालोसूचीमा राख्नको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाउनुको साथै बैंक ग्यारेन्टी फिर्ता माग गर्ने र अन्य क्षतिपुर्ति असूल गर्ने तर्फ आवश्यक कारवाही अगाडि बढाईने गाउँपालिकाले जनाएको छ । कार्यालय सन्चालनको लागि गाउँपालिकाले गत असार २७ गते शुभ साईत पारेर नयाँ भवनमा अग्निस्थापना र रुद्राभिषेक समेत गरिसकेको छ ।
वडा नम्बर ५ को क्युँदीमा २५ रोपनी क्षेत्रफलको जग्गामा २०७६ असारबाट भवन निर्माण सुरु गरिएको थियो । सुरुमा २ वर्षको लागि निर्माण सम्झौता गरिएको उक्त भवनको प्रत्येक पटक ६ महिनाको म्याद थप्दै यही माघ मसान्त अन्तिम मिति तोकिएको थियो । निर्माण कम्पनीले अन्तिम पटक तोकिएको म्याद भित्रै निर्माण सम्पन्न गरेपनि भुक्तानी लगायतको समस्याको कारण भवनको बुझ बुझारथ गर्न ढिलाई गरेको थियो ।
कुल सात करोड ५० लाख ४९ हजार ५ सय ८० रुपैयाँको लागत इस्टमेट रहेपनि टेन्डर प्रक्रिया मार्फत काठमाडौं स्थित रविना अविसा जेभीसँग ५ करोड ४१ लाख ४९ हजार ५ सय ८० रुपैयाँमा निर्माण सम्झौता भएको थियो ।