दमौली, साउन ६
तनहुँको आबुँखैरेनीमा नीजि क्षेत्रबाट सन्चालित छिम्केश्वरी अस्पताल प्रा.लि.आबुँखैरेनी आस्पतालमा समायोजन हुने भएको छ । उक्त समायोजन सम्बन्धी सम्झौतापत्रमा आइतबार हस्तक्षर गरियो ।
आँबुखैरेनीवासीलाई विशेषज्ञ स्वास्थ्य सेवा सहितको उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र नभइ सिंगो गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रिय स्वास्थ्य हव बनाउने उद्देश्यले गाउँपालिकाबाट सन्चालित आँबुखैरेनी अस्पताललाई निकट भविष्यमानै ५० शैयाको अस्पताल बनाउने लक्ष्यको साथ आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ मा सन्चालित छिम्केश्वरी अस्पताल प्रा.लिलाई आँबुखैरेनी अस्पतालमा समायोजन हुने सम्बन्धि सम्झौतामा हस्ताक्षर गरिएको आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
उक्त सम्झौतापत्रमा छिम्केश्वरी अस्पताल प्रा.लि.को स्वामित्वमा रहेको सम्पुर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सन्चालनसँग सम्बन्धित औषधी एवं औपधीजन्य वस्तुहरु आँबुखैरेनी अस्पतालमा हस्तान्तरण गर्ने, हस्तान्तरित वस्तुहरुको मुल्याङ्कन गरी आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने तथा छिम्केश्वरी अस्पताल प्रा.लि.का हाल रहेका शेयर सदस्यहरुको एकाघरका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क गराउने सहमती भएको छ ।
यसैगरि छिम्केश्वरी अस्पताल प्रा.लि.रहेको पुर्वाधारमा गाउँपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य एकेडेमी सन्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हव क्षेत्र निर्माण गर्ने साथै छिम्केश्वरी अस्पताल प्रा.लि.को शेयर सदस्यहरुलाई सो एकेडेमीको शेयर सदस्य बनाउने, एक विशेष समारोहको आयोजना गरी सम्पुर्ण छिम्केश्वरी अस्पताल प्रा.लि.को शेयर सदस्यहरुलाई सम्मान सहित अस्पताल समायोजन कार्यक्रम सम्पन्न गर्ने तथा आँबुखैरेनी अस्पताल सन्चालक समितिमा छिम्केश्वरी अस्पताल प्रा.लि.मा हाल रहेका शेयर सदस्यहरु मध्येवाट प्रतिनिधित्व गराउने पनि सहमती भएको छ ।
उक्त सहमती पत्रमा आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पताल प्रा.लि.को तर्फबाट अध्यक्ष कृष्णमान तामाङले हस्ताक्षर गरेका छन् ।