डुम्रे, साउन १२
मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको डुम्रेबजारमा केही घरहरूले मापदण्ड अनुसार नभत्काइएपछि सडक विस्तार लगायतका कार्यहरू गर्न ढिलाई भइरहेको छ । शुक्रबार बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा निर्माणाधिन सडकमा बजारबासीले सडक मापदण्डको पालना गरे नगरेको सम्बन्धी अनुमगन गरिएको थियो भने शनिबार स्थलगतरुपमा प्राविधिक सहित मापदण्ड परिक्षण गरिएको थियो ।
अनुमगनको क्रममा गाउँपालिका अध्यक्ष थापाले सडक विस्तारका लागि भत्काउनु पर्ने घर तथा संरचना कतिपय घरधनीले नभत्काईदिँदा सडक चौडा पार्ने काममा ढिलाई भएकाले बताए ।
घर तथा संरचनाहरू नहटाउने व्यक्तिहरूलाई गाउँपालिका तथा वडाबाट प्रदान गरिने सबै किसिमको सेवा प्रदान नगरिने समेत गाउँपालिकाले चेतावनी दिएको छ । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, मुग्लिन–पोखरा सडक आयोजना, कन्सल्टेन्सी र ठेकेदार कम्पनीका प्रतिनिधिले मापदण्ड तोक्ने र सोहि अनुसार भत्काईने भएको छ ।
वडा नम्बर १ का अध्यक्ष एवं गाउँ पालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले बजारको सडक निर्माण छिट्टै सक्न र बजारको सौन्दर्यता बढाउनको लागि सहयोग गर्न सबै बजारबासीसँग आग्रह गरे । अनुगमनका क्रममा जनप्रतिनिधिहरु, डुम्रे प्रहरी चौकीका प्रमुख प्रहरी प्रमुख तथा पालिकाका कर्मचारीहरूहरुको सहभागिता रहेको थियो ।
बन्दिपुर गाउँपालिकाले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएमा गाउँपालिकाबाट प्रदान गरिने सेवा सुविधाबाट बन्चित गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले विहिबार विज्ञप्ति प्रकाशित गरि सडक मापदण्डमा पर्ने घर टहरा स्वत स्फुर्त रुपमा यस्ता घर धनीहरुलाई वडा कार्यालय, गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने सेवा सुविधा उपलब्ध नगराईनुका साथै कानुन बमोजिम कारवाही गरिने चेतावनी दिएका थिए ।
बन्दीपुर गाउँपालिका अन्तर्गत पृथ्वी राजमार्गको सडक मापदण्ड भित्र पर्ने घर टहरा हटाउने सम्बन्धि गाउँपालिका कार्यालयले यस अघि पनि पटक पटक सूचना प्रकाशित गर्दा पनि हालसम्म सबै घरटहरा नभत्काएको साथै हाल घर अगाडी सडक मापदण्डमा पर्ने गरि ट्रष्ट निर्माण समेत गरेको पाइएकोले सडक मापदण्ड भित्र निर्माण भएका घर टहरा र ट्रस तत्काल हटाउन सुचना मार्फत गाउँपालिकाका अध्यक्ष थापाले अनुरोध गरेका छन् ।