चितवन, साउन १२।
बोष्टन इन्टरनेशनल कलेजले सूचना र प्रविधिमा आधारित व्यवहारिक सीप सिकाउने उद्देश्यले परियोजना प्रदर्शनी ३.० सम्पन्न गरेको छ ।
चितवनको भरतपुर–१० मा रहेकाे बोष्टन इन्टरनेशनल कलेजले चितवन र नवलपुरका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएको कार्यक्रमलाई दुई खण्डमा विभाजन गरिएको थियो । पहिलो खण्डमा ६०० बढी विद्यार्थीहरु रहेका भन्दै कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारीले दोस्रो चरणमा परियोजनाको विचार प्रस्तुतीकरण गरिएको बताउनुभयो । दोस्रो चरणको औपचारिक कार्यक्रममा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएका अधिकारीको भनाइ छ । विचार प्रस्तुतीकरण कार्यक्रममा बोष्टन कलेजमा बिसिआईएस कार्यक्रमको छैठौं र आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेका १३ वटा परियोजनाहरु प्रस्तुत गरिएको अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रस्तुत गरिएका परियोजनामार्फत स्मार्ट पार्किङ, अस्पताल बुकिङ प्रणाली, फरबेबी, सहयोगी हात, सेनेटरी प्याड भेन्डिङ मेशिन, अनलाइन रेस्टुरेन्ट व्यवस्थापन प्रणाली, इभेन्ट प्लानर, फेक प्रोडक्ट आइडेन्टिफिकेशन बाई ब्लकचेन, एग्रो टेक, नगर गुनासो, ब्लड बैंक व्यवस्थापन प्रणाली, होम अटोमेशन सिस्टम, नेपाली लाइसेन्स नम्बर प्लेट डिटेक्शन र बेस्टी नामक फोहोरमैला व्यवस्थापन सफ्टवेयर समावेश भएका उहाँले बताउनुभयो ।
नेपाल युवा उद्यमी मञ्च चितवनका स्टार्टअप सह–अध्यक्ष दीलिप पौडेलले प्रस्तुत परियोजनाहरु उत्कृष्ट रहेकाले आगामी दिनमा व्यावसायिक ढङ्गले विस्तार गर्न सुझाव र शुभकामना दिनुभयो । कार्यक्रममा अङ्कूरम एकेडेमी, अर्किड साइन्स कलेज, गैँडाकोट माध्यमिक विद्यालय, प्रेरणा माध्यमिक विद्यालय, ओम शान्ति एकेडेमी, अर्बिट कलेजलगायतका विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थीको उपस्थिति रहेको थियो ।
बोष्टन कलेजका स्नातक कार्यक्रम सहायक निर्देशक नवीन कुमार श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै परियोजनाबाट नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेका बताउनुभयो । कार्यक्रममा बोष्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु तामाङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।