दमौली, साउन १३
तनहुँ सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालको स्तरोन्नतीबारे अन्तरक्रिया कार्यक्रम आईतबार दमौलीमा सम्पन्न भएको छ । हाल १५ शैयामा सन्चालित दमौली अस्पतालको क्षमता ५० शैयामा बनाउने बारेमा सो अन्तरक्रियामा छलफल भएको थियो ।
सो कार्यक्रममा गन्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले अस्पतालको स्तरोन्नती तथा आवश्यक पुर्वाधार निर्माणकोलागि जग्गा प्राप्ती महत्वपुर्ण रहेको बताए । दमौली अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न धेरै पटक पहल भईरहेको भन्दै मन्त्री थापाले मन्त्रीपरिषद र संसदको बैठकमा पनि धेरै पटक कुरा उठेको बताए ।
दमौली अस्पताल १५ शैयाको भएपनि ५० शैयाको भन्दा पनि राम्रो सेवा दिईरहेको भन्दै मन्त्री थापाले अहिले भईरहेकै संरचनालाई व्यवस्थापन गरेर धेरै भन्दा धेरै सेवा दिनुपर्ने बताए । अस्पतालको जनशक्ति र सेवा सुविधा बढाउन प्रदेश सरकारले प्राथमिकतामा राखेको मन्त्री थापाले बताए ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव–डा.बिनोद बिन्दु शर्माले दमौली अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकार गम्भीर रहेको भन्दै अस्पताललाई ५० शैया बनाउने बारेमा प्रदेशले प्रस्ताव मात्रै गर्ने तर निर्णय भने संघीय मन्त्री परिषदले गर्ने जानकारी दिए ।
गन्डकी प्रदेश सरकारले प्रदेश भित्रका ६ वटा अस्पताललाई ५० शैया बनाउने निर्णय गरिसकेको भन्दै सचिव शर्माले तर दमौली अस्पतालमा जग्गाको समस्या रहेको बताए । मुख्य समस्या जग्गाको नै हो भन्दै उनले स्थानीय स्तरबाट जग्गाको व्यवस्थापन गर्न सके दमौली अस्पताललाई ५० शैया बनाउन सकिने बताए ।
गन्डकी प्रदेश पुर्व मन्त्री डोवाटे विकले यस अघि आफु मन्त्री हुँदा पनि अस्पतालको स्तरोन्नतीको लागि धेरै पहल गरेपनि सफल नभएको बताए ।
दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हालको एसपी क्वाटरलाई अन्यत्र व्यवस्थापन गर्ने तथा कृषि ज्ञान केन्द्र र भेटेनेरी अस्पतालको पछाडी तर्फको जग्गालाई व्यवस्थापन गर्न सके दमौली अस्पताललाई ५० शैयाको बनाउन सकिने बताए । यसको लागि सबैको सकारात्मक पहल हुनु पर्ने उनको भनाई थियो ।
सो कार्यक्रममा सहभागीहरुले दमौली अस्पताललाई स्तरोन्नती गर्न ढिलाई भईरहँदा दमौलीको स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास घट्दै गईरहेको बताएका थिए ।