दमौली, साउन १३
म्याग्दे गाउँपालिकाका मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाईसिस गराई रहेका एवं क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका विरामीले लाभग्राही कार्ड नविकरण गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।
म्याग्दे गाउँपालिकाले मिर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गराई रहेका एवं क्यान्सरको उपचारमा रहि रहेका, क्लोज फलोपमा रहेका तथा मेरुदण्ड पक्षघात भएका रातो र निलो अपाङ्ग परिचय पत्र बाहक बिरामीहरुलाई औषधी उपचार वापत मासिक ५ हजार रुपैयाँ उपलब्ध गराईरहेको छ । यसै सन्दर्भमा उक्त उपचार खर्च प्राप्त गर्दै आएका विरामीहरुले चालु आ.व ०८१÷०८२ मा नियमित औषधी उपचार वापत रकम उपलव्ध गर्नको लागि आगामी भदौ २० गते सम्ममा लाभग्राही परिचयपत्र नविकरण गर्नुहुन अनुरोध गरेको हो ।
लाभग्राही आफै वडा कार्यालयमा उपस्थित भई निवेदन दिई अनिवार्य रुपमा नविकरण गर्नुहुन गाउँपालिकाले अनुरोध गरेको छ । तोकिएको समयमा नविकरण नगराएमा औषधी उपचार खर्च बापतको रकम उपलव्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।
साथै कुनै पनि लाभग्राहीको औषधी उपचार खर्च बापतको रकम छुट्न गएमा र निजले पुन प्राप्तीका लागि निवेदन दिएमा निवेदन पश्चात नयाँ लाभग्राहीको सुचीमा दर्ता गराई औषधी उपचार खर्च बापतको रकम प्राप्त गर्न सक्ने भन्दै गाउँपालिकाले विरामी अशक्त भएका लाभग्राहीको हकमा निजको हकदारले नविकरण गर्ने व्यवस्था मिलाईएको पनि जानकारी दिएको छ ।
उक्त लाभग्राही परिचयन पत्र नवीकरणको लागि नागरिकताको प्रमाण पत्र, बालवालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, अपाङ्गता भएका व्यक्तिको हकमा पालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि तथा आवश्यकता अनुसार बसाई सराई दर्ता प्रमाण पत्र तथा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने जनाइर्एएको छ ।