पोखरा, साउन १६
प्रेस चौतारी नेपालले सञ्चालन र व्यवस्थापन गर्ने गरी डा.शान्ति पाण्डे स्मृति राष्ट्रिय महिला पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । पूर्वमन्त्री तथा उद्योगी हरिप्रसाद पाण्डे तथा श्रीमती तुलसा पाण्डेकी छोरी शान्तिको जन्मदिनको अवसरमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा सो पुरस्कारको घोषणा तथा पुरस्कार सन्चालनको लागि पाण्डे परिवारले स्थापना गरेको मातृसेवा प्रतिष्ठान नेपाल र प्रेस चौतारी नेपाल महिला विभाग विच सम्झौता पत्रमा हस्ताक्षर समेत गरियो ।



उक्त पुरस्कारका लागि ५ लाखको अक्षयकोषको व्यवस्था गरेको छ । प्रत्येक वर्ष थप ५० हजार रकम १० वर्षसम्म प्रदान गर्ने गरी औपचारिक कार्यक्रमका बीच सम्झौता भएको प्रेस चौतारी नेपाल महिला विभाग प्रमुख जमुना वर्षा शर्माले जानकारी दिइन् ।
आफ्नी छोरीको अधुरा सपना पूरा गर्न थुप्रै छोरीहरूको सशक्तीकरणमा तल्लीन पाण्डे दम्पत्तीले विभिन्न चुनौतीका बीच पत्रकारितामा सक्रिय छोरीहरूलाई प्रोत्साहन गर्न अक्षय कोषको स्थापना गर्नुभएको शर्माले बताइन् । उक्त कोषको व्याज रकमबाट हरेक वर्ष प्रेस चौतारी आवद्ध रहेर सक्रिय पत्रकारिता गर्नुहुने एक जना पत्रकार महिलालाई नगद ५० हजार १०१ रुपैयाँबाट पुरस्कृत हुनेछन् । उक्त पुरस्कार प्रत्येक वर्षको माघ २२ गते प्रदान गरिनेछ । डा.पाण्डेको २०६१ साल साउन ४ गते स्कुटर दुर्घटनामा निधन भएको थियो । उनकै स्मृतिमा समाज रुपान्तरणमा योगदान गर्ने पत्रकार महिलालाई सम्मान गर्न पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकार महिलालाई सम्मान गर्न पुरस्कारको स्थापना गरेकोमा मातृसेवा प्रतिष्ठान प्रति आभार प्रकट गरे । उनले अक्षयकोषलाई दायाँ बायाँ हुन नदिने प्रतिवद्धता व्यक्त गरे । ‘नलेख्ने पत्रकार महिलालाई पुरस्कार दिएर प्रतिष्ठानको अपमान गरिने छैन,’ उनले भने, ‘लेख्ने पत्रकार महिला नभेटेको अवस्थामा पुरस्कारलाई चौतारीको सीमाभन्दा बाहिर जान सक्ने व्यवस्था गर्ने योजना छ ।’
कार्यक्रममा पूर्वमन्त्री पाण्डेले प्रतिष्ठानले आफ्नो जन्मभूमि, कर्मभूमि र सिंगो देशलाई कार्यक्षेत्र बनाएर शिक्षा, स्वास्थ्य र विचार निर्माणको क्षेत्रमा काम गरेको जानकारी दिए । पाण्डेले नेपाल पत्रकार महासंघ कास्कीमा समेत २५ हजार १ सय १ को पुरस्कार स्थापनाका लागि प्रक्रिया अगाडी बढाउन सुझाव दिए ।
छोरी शान्ति पाण्डेको स्मृतिमा २ सयभन्दा बढी नर्सिङ शिक्षाका लागि छात्रवृत्तिको व्यवस्था गरेको पाण्डेले बताए । उनले प्रतिष्ठानले देश भरीमा ८ सय ६९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिसकेको जनाए ।
सो कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी कास्की अध्यक्ष बैनबहादुर अधिकारी, नेकपा (एमाले) केन्द्रीय प्रचार विभागका सदस्य रामकृष्ण ज्ञवाली, प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीक, न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गंगाधर पराजुली, प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, प्रेस चौतारी नेपाल केन्द्रीय सचिव सुष्मा पौडेल, केन्द्रीय सदस्य कञ्चन थापा, गण्डकी प्रदेशका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले पुरस्कारका बारेमा मन्तव्य राखेका थिए ।