मापदण्ड विपरित थपिएका सदस्य नहटाउँदासम्म तनहुँमा पत्रकार महासंघको निर्वाचन गर्न नदिने प्रेस चौतारीको चेतावनी

Devghat Online

शेयर गरौ

दमौली, भदौ ३१

प्रेस चौतारी नेपाल तनहुँ शाखाले मापदण्ड विपरित थप गरिएका सदस्य नहटाउँदा सम्म पत्रकार महासंघको निर्वाचन गर्न नदिने चेतावनी दिएको छ । प्रेस चौतारी तनहुँले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरि नेपाल पत्रकार महासंघको निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिले यहि असोज १२ गते निर्वाचन गर्ने गरी २०८१ भदौ २९ गते प्रकाशन गरेको सदस्यता नामावली प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघको विधान अनुसार सदस्यता वितरण र नविकरण जिल्ला शाखाको सिफारिस अनुसार प्रदेशले अनुमोदन गरी केन्द्रले अभिलेखिकरण गर्नुपर्ने व्यवस्था रहेकोमा सो व्यवस्था विपरित र निर्वाचनका लागि गठन भएको निर्वाचन समितिले नामावली प्रकाशन, नामाबली उपर दाबी उजुरी समेत लिईसकेको अवस्थामा निर्वाचन निर्देशिका र कार्यविधि विपरित मात्र होइन निर्वाचनको सामान्य सिद्धान्त, मूल्य मान्यता र विधि पद्धती विपरित रहेको ठहर गरेको छ ।

पछिल्लो पटक सार्वजनिक सदस्यता नामावलीमा थप भएका सदस्यहरुको नामावली हेर्दा जिल्लाबाट सर्वसम्मत निर्णय गरी पठाइएकाहरुलाई हटाएर सिफारिस नै नगरिएका व्यक्तिको सदस्यता कायम गरी पठाइएको प्रति गम्भिर आपत्ति र ध्यानाकर्षण भएको प्रेस चौतारीको विज्ञप्तिमा जनाईएको छ । यो कार्य महासंघ केन्द्र आफैले जारी गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ को विपरित रहेकोमा दुईमत नरहेको जनाईएको छ ।

यसरी जिल्ला शाखाको निर्णयलाई पूरै बाईपास गरेर केन्द्रबाट विधान र शुद्धिकरण मापदण्ड विपरित पटक–पटक थपिएका नाम नहटाएसम्म निर्वाचन कार्यक्रम जिल्लामा बढाउन नसकिने प्रेस चौतारी तनहुँका अध्यक्ष राजकुमार श्रेष्ठ विविद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।
यस्तै, यही परिस्थितीमा निर्वाचनको कार्यक्रम अघि बढाउन खोजे उत्पन्न हुने परिस्थितीको जिम्मेवार महासंघ केन्द्र, जिल्ला र निर्वाचन समिति नै हुने जानकारी समेत गराईन्छ । यो कठिन परिस्थितिमा जिल्लाबाट सर्वसम्मत निर्णय गरी सिफारिस गरिएका सदस्यहरुको नाम समावेश गर्न चौतारीले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू