दमौली, भदौ ३१
गन्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जनतालाई दिने स्वास्थ्य सेवामा कुनै पनि हेलचक्र्याई र लापरवाही गर्ने छुट कसैलाई पनि नभएको बताएका छन् । स्वास्थ्य कार्यालय तनहुँद्वारा दमौलीमा आयोजित स्वास्थ्य संस्थाहरुको जिल्ला स्तरीय समिक्षा कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै मन्त्री पाठकले स्वास्थ्य क्षेत्र निकै संवेदशनशिल क्षेत्र भएको हुँदा यो क्षेत्रमा लापरवाही गर्ने छुट कसैलाई पनि नभएको बताए ।
जुन विषयबाट पनि स्वास्थ्य जोडिने हुँदा सबैसँग सहकार्य गरि स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउनुपर्ने मन्त्री पाठकको भनाई थियो । स्वास्थ्य क्षेत्रको जिम्मा लिनेहरु अत्यन्तै गम्भिर बन्नु पर्ने मन्त्री पाठकको भनाई थियो । गत वर्षको कामको समिक्षा गरि आगामी दिनको कामलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री पाठकले स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफु लागिपर्ने बताए । स्वास्थ्य विमाको रकम भुक्तानीमा समस्या भएको हुँदा यसबारेमा संघीय स्वास्थ्यमन्त्रीसँग छलफल गरि निकास निकाल्ने उनको भनाई थियो ।
आइतबारदेखी आयोजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जिल्ला स्थित १० वटै स्थानीय तहका प्रमुखहरुले आ आफ्नो स्थानीय तहको स्वास्थ्य क्षेत्रको अवस्था र चुनौतीको विषयमा प्रस्तुतीकरण राखेका थिए भने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले समग्र जिल्लाको स्वास्थ्यको अवस्थाको बारेमा प्रस्तुत गरेका थिए ।
यसैविच मन्त्री पाठकले दमौली अस्पतालको स्तरोन्नती गर्ने प्रतिबद्धता जनाएका छन् । सोमबार दमौली अस्पतालको निरिक्षणको क्रममा मन्त्री पाठकले दमौली अस्पतालको स्तरोन्ती गरि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका हुन् । यसवर्ष प्रदेश सरकारले ६ वटा अस्पतालको स्तरोन्नती गर्ने भन्दै मन्त्री पाठकले दमौली अस्पताल पनि स्तरोन्नतीमा पर्ने बताएका हुन् ।
उक्त कार्यक्रममा दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगर पालिकाका मेयर बैकुण्ठ न्यौपाने र दमौली अस्पतालका प्रमुख डा.परिवर्तन बरालले अस्पतालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
यसअघि मन्त्री पाठकले नेकपा एमाले जिल्ला कार्यालय तनहुँमा कार्यकर्तासँग भेटघाटको क्रममा दमौली अस्पतालको स्तरोन्नती र उपकरण थपको बारेमा आफु लागिपर्ने बताएका थिए । उक्त कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कडेंल, उपाध्यक्ष राजेश्वर ढकाल र सचिव प्रदिपराज अधिकारीले अस्पतालको अवस्थाको बारेमा मन्त्री पाठकलाई जानकारी गराएका थिए ।