बन्दीपुर, भदौ ३१
तनहुँको बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले पाउने मासिक बैठक भत्ता रकम विकास निर्माण कार्यमा खर्च गरिएको छ । गाउँपालिकामा रहेका चौतिस जना जनप्रतिनिधीले भत्ता रकम सडक,पानी,स्वास्थ्य र शिक्षा लगायतका क्षेत्रमा खर्च गरेका हुन् ।
विसं २०७९ सालमा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता समेत नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौं, उनले भने “निर्णय नगरेपनि सबै जनप्रतिनिधिले पाउनेभत्ता लिएका छैनौ ।”
एक बर्षको अवधिमा जनप्रतिनिधीका लागि बैठक भत्तामा करिब १८ लाख खर्च हुने उनले बताए। त्यसैगरी अवलोकन भ्रमण बापत एक बर्षमा खर्च गरिने १५ लाख समेत विकास निर्माणमा खर्चिदै आएको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
बेजिल्ला जाँदा जनप्रतिनिधिका लागि भत्ता बापत छुट्टाइएको ६ लाख समेत खर्च गरिएको छैन्,उनले भने “विकास निर्माण कार्यमा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ ।”